Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गुठीको मुठीमा मनकामना मन्दिरको धर्मशाला

गुठीको मुठीमा मनकामना मन्दिरको धर्मशाला

इच्छाकामना न्युज

२५, आश्विन २०७७
गुठीको मुठीमा मनकामना मन्दिरको धर्मशाला

गोरखा: प्रसिद्ध मनकामना मन्दिरको धर्मशाला विगत ४५ बर्षदेखि गुठी संस्थानको मुठीमा छ। तीर्थालु भक्तजनलाई सेवाभावले आश्रय दिनका लागि निर्माण गरिएको धर्मशालामा ‘गेष्टहाउस’ सञ्चालन गरेर गुठी संस्थानले अकूत नाफा कमाएको छ ।

images

टाढाबाट आएका तिर्थालु भक्तजन तथा योगी तपस्वीलाई निशुल्क उपलब्ध गराउन निर्माण गरिएको धर्मशालामा पसल र लज चलेपछि टाढादेखि आएका भक्तजनहरु समस्यामा पर्ने गरेको स्थानीयबासीको गुनासो छ ।

‘सबै भक्तजन महंगो शुल्क तिरेर होटल लजमा बस्ने खालका त हुदैनन् । सन्यासीहरु योगीहरु आउँछन् । बिभिन्न धाम, मठ मन्दिरको तीर्थ गर्न भारत, श्रीलंकादेखि महिनौंका लागि तीर्थ गर्न आएकाहरु हुन्छन् । उनीहरु धर्मशालामा बस्न खोज्छन्’, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी भन्छन्, ‘उनीहरुलाई आश्रयस्थल हुन्छ भनेर पो धर्मशाला बनाइएको हो तर धर्मशालामा गेष्टहाउस छ । पसल छ ।’ कतिपय योगीहरु परेवाघरमा कोचिएर बस्न बाध्य भएको उनले बताए ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी।

मालपोत कार्यालयको अभिलेख अनुसार मनकामना गुठीको नाममा रहेको कित्ता नं. ५८८ को ९ आना १ पैसा ३ दाम र कित्ता नं. ५८९ को ३ पैसा ३ दाम क्षेत्रफल जग्गामा धर्मशाला रहेको छ । २१ वटा कोठा रहेको धर्मशालाको १७ वटा कोठामा होटल र लज छ । चार वटा कोठामा मन्दिरका सामान राखिएको छ । त्यस्तै धर्मशालाकै आडमा फूलबारी प्रयोजनका लागि कित्ता नंबर ५९१ नंबरको सातरोपनी तीन आना दुई पैसा तीनदाम जग्गा पनि रहेको छ । बहुमूल्य सो जग्गाको पनि दुरुपयोग भइरहेको स्थानीयको गुनासो छ ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीका अनुसार मनकामना धर्मशालाको सिलान्यास २०३१ सालमा तत्कालीन राजा वीरेद्रले गरेका थिए ।

निर्माण सम्पन्न हुनेबित्तिकैदेखि गुठी संस्थानले सो धर्मशाला व्यवसायिक प्रयोजनका लागि भाडामा दिन थालेको हो ।

‘धर्मशाला भनेको धर्मशाला नै हो, होटल, लज केही पनि होइन तर गुठी संस्थानले धर्मशालाको मर्म र भावना बिपरीत हस्ताक्षेप गरी मनकामना गुठी भाडामा लगाएर पैसा कमाउने हर्कत गर्‍यो’, लगातार १० बर्षसम्म मनकामनाको गाविस अध्यक्ष समेत रहेका जोशी भन्छन्, ‘अहिले ४५ बर्ष भयो, मनकामना मन्दिरको धर्मशालामा गुठी संस्थानको हालीमुहाली छ।’

फूलबारी भनेर राखिएको सातरोनी जग्गा पनि गुठी संस्थानले दुरुपयोग गरिरहेको उनले बताए ।

मनकामना धर्मशालामा सबैभन्दा पहिले ईश्वर मल्लले २०४२ सालसम्म गेष्टहाउस सञ्चालन गरे । त्यसपछि रामलाल श्रेष्ठले २०५७ सालसम्म र २०५७ सालदेखि अहिलेसम्म प्रेमकुमार श्रेष्ठले भाडामा होटल सञ्चालन गरिरहेका छन् । नौ वटा सटहरु भाडामा पसल सञ्चालन गरेका छन् ।

मनकामना मन्दिरको परिसरमा रहेको धर्मशालामा सञ्चालित गेष्टहाउस।

‘गुठी संस्थाले १५ बर्षसम्म भाडामा दिन टेण्डर आव्हान गर्‍यो। अनि मैले गुठी संस्थानलाई १५ बर्षको ५३ लाख रुपैयाँ दिने गरी ठेक्कामा लिएर गेष्टहाउस चलाएको हुँ’, श्रेष्ठले भने, ‘२०७२ सालमा १५ बर्ष पनि पूरा भयो । गेष्ट हाउस पनि जीर्ण भएको छ । त्यसपछि एकेक बर्षको सम्झौता गरी चलाइरहेको छु ।’

धर्मशाला धर्मशालाकै रुपमा चल्नुपर्ने आफ्नो पनि राय रहेको उनले बताए ।

गुठी संस्थानले मनकामना धर्मशाला हडप्न नहुने मनकामना क्षेत्र विकास समितिका पूर्व अध्यक्ष दिनेश जोशी बताउँछन् । गुठी संस्थानको मुठीबाट मुक्त गराउन बेलाबेला स्थानीयस्तरबाट पहल भइरहेको तर कार्यान्वयन हुन नसकेको उनको गुनासो छ ।

‘धर्मशालामा गेष्टहाउस चलाउन पाइँदैन भनेर म अध्यक्ष हुँदा पनि जोडदार कुरा उठेको हो । धर्मशाला धर्मशालाकै रुपमा चल्नु पर्छ भनेर स्थानीय युवाहरुले हस्ताक्षर संकलन गरी गुठी संस्थानलाई बुझाउन पनि गएका हुन्’, उनले भने, ‘२०७२ सालमा संस्कृति, पर्यटन मन्त्री मिनेन्द्र रिजाल हुनुहुन्थ्यो । मन्त्री र गुठी संस्थानका अध्यक्षलाई निम्त्याएर मनकामनामै मिटिङ पनि गरेका थियौँ । त्यतिबेला हामी फिर्ता गर्छौँ, तपाईँहरुलाई स्वायत्तता दिन्छौं भनेर जानुभएको हो, तर उहाँहरु फर्केपछि केही कलम चोब्नु भएन ।’

मनकामना क्षेत्र विकास समितिका पूर्व अध्यक्ष दिनेश जोशी ।

मनकामना गुठीको नाममा लालपूर्जा भएको जग्गा गुठी संस्थानले हडपेको गुनासो उनले गरे । ‘मनकामना मन्दिर, मनकामना धर्मशाला, फूलबारी, करिब छसय रोपनी वन, दुईसय रोपनी खेत जतिपनि छन्, ती सबै गुठी संस्थानको अधिनस्थ जग्गा होइन’, जोशीले भने, ‘राजा राजेन्द्र विक्रम शाहको पालादेखि मन्दिरका लागि व्यवस्था भएको यो जग्गा अहिले गुठी सँस्थानले कसरी हडप्न पाउँछ ?’ यहाँको आम्दानीले गुठी सँस्थान चलाउने काम मात्र भइरहेको उनको आरोप छ ।

मनकामना मन्दिर जीर्णोद्वार समितिले सो धर्मशाला र फूलबारीको नामको जग्गालाई व्यवस्थित गर्ने लगायतका बुँदाहरु समेटेर गुरुयोजना बनाएको छ । तर गुठी संस्थानले हडपेका कारण अघि बढाउन नसकिएको सो समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठ बताउँछन् ।

‘मनकामना मन्दिर, धर्मशाला, फूलबारी सबै हाम्रा धरोहर हुन् । यिनको उचित संरक्षण र विकास गर्नुपर्छ भनेर मनकामना क्षेत्र विकास समिति, मनकामना मन्दिर जीर्णोद्वार समिति, गुठियारहरुको पहलमा गुरुयोजना बनाएका छौं । धर्मशालालाई धर्मशालाकै रुपमा परिणत गर्ने, फूलबारी भनेर राखिएको सात रोपनी बहुमूल्य जग्गामा भक्तजनहरुको लाइन ब्यबस्थापन, खानेपानी, स्नानगृह, सौचालय, रमणीय उद्यानहरु बनाएर भक्तजनहरुलाई सुविधा दिनुपर्ने ब्यहोरा गुरुयोजनामा खुलाइएको छ’, उनले भने, ‘मन्दिर जीर्णोद्वारको काम सकेर हामीसँग केही रकम पनि बचेको छ । केही सुन पनि बचत छ । त्यसमा रकम थप गरी गुरुयोजना अनुसार काम गर्ने हाम्रो लक्ष्य हो । गुरुयोजना हामीले पुरातत्व विभाग र गुठी संस्थानमा बुझाएका छौं । पुरातत्व विभागले स्वीकृत गरिसक्यो तर गुठी संस्थानले स्वीकृत गरेको छैन ।’ गुठी संस्थानले स्थानीयको मर्म र भावनामा खेलवाड गर्न नहुने श्रेष्ठले बताए ।

देश सञ्चार डटकमबाट

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १८:०४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology