देवघाट, १० फागुन । तनहुँको देवघाट गाउँपालिका वडा नं १ बसेनीटारस्थित एक घरमा आगलागी भएको छ। आँगलागीका कारण स्थानीय मंगलसिंह भुजेलको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
ढुंगाको पर्खाल र खरको छानो भएको करिब ३ लाख बराबरको घर जलेर पुर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्जवलराज चिलवालले जानकारी दिनुभयो । करिब एक लाख ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुडा,मोबाइल र नगद पैसा जलेर नष्ट भएको उहाँले बताउनुभयो। घरको छानाबाट आगलागी सुरु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
बालबालिकाहरुले लाइटर खेलाउँदा झुक्किएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दिउँसो करिब साढे ३ बजे लागेको आगो निभाउन स्थानीयहरुले एक घण्टासम्म प्रयास गर्दापनि सफल नभएको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो ।आर्थिक स्तर कमजोर भएका भुजेल परिवारलाई घर जलेर क्षति भएपछि समस्या भएको छ । पीडित परिवारलाई गाउँपालिकाले तत्कालै केही थान म्याट उपलव्ध गराएको देवघाट गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
त्यस्तै घर जलेर ध्वस्त भएको देखेपछि रोटरी क्लव अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान र अध्यक्ष अनुकूल श्रेष्ठ सहितको टिमले तत्काल नगद सात हजार रुपैयाँ सहयोग गरेको छ । आगलागिमा वृद्धभत्ता र नागरिकताको प्रमाणपत्रसमेत जलेको हुँदा पीडित परिवार चिन्तामा रहेका छन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा, रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान,अध्यक्ष अनुकुल श्रेष्ठ लागाएत रोटरी क्लब अफ नारायणगढका प्रतिनिधिहरु र स्थानीयहरुले आगो निभाउन प्रयास गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका भुजेलको एक श्रीमती, दुई छोरी, एक छोरा र एक आमा रहेकी छन् ।