गोरखा, १० फागुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले गोरखामा लेखबहादुर थापालाई अध्यक्ष र यादब बस्नेतलाई सचिवमा चयन गरेको छ । नेकपा दुई गुटमा बिभाजित भएपछि त्यसको असर जिल्ला समितिमा पनि देखिएको हो ।
माओवादी र एमाले बिच एकता हुँदा माओवादीबाट लेखबहादुर थापा अध्यक्ष एमालेबाट प्रेम गुरुङ सचिव थिए । गुरुङ ओली गुटमा लागेपछि उनको ठाउँमा यस अघि एमालेमा रहेका तर अहिले प्रचण्ड–माधव गुटमा लागेका यादब बस्नेतलाई जिल्ला सचिव तोकिएको छ । बस्नेत एमालेमा रहँदा बामदेव गौतम निकट नेताका रुपमा चिनिन्थे । उनलाई ओली पक्षधरले केन्द्रिय सदस्यमा मनोनित गरेपनि उनले केन्द्रिय सदस्य त्यागेर प्रचण्ड–माधव समुहलाई साथ दिएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेपछि बिभाजित बनेको नेकपाको प्रचण्ड–माधव पक्षले गोरखामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन् । नौ बुँदे मापदण्ड बनाएर प्रचण्ड–माधव समुहले ५०–५० प्रतिशत हैलियतमा नेतृत्व टुङ्ग्याउने निर्णय आईतवार गरेको थियो । प्रचण्ड–माधव पक्षधरको नेकपामा पूर्व माओवादीले ३५ र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् भने नौ वटा जिल्लामा नेतृत्व टुङ्ग्याउन बाँकी छ । गण्डकी प्रदेशको छ जिल्लामा नेतृत्व टुङ्गिएको छ ।