Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

images

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल
images

अमरराज नहर्की

तनहुँ, फागुन १ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले सेवा विस्तार गरिरहेको छ । सेवा विस्तारको क्रममा अस्पतालले ‘दाँत बलियो भए आँत बलियो हुन्छ, आँत बलियो भए पालिका नै बलियो हुन्छ’ भन्ने नाराका साथ मुख तथा दन्त उपचार सेवा थप गरेको हो । 

मुख तथा दन्त उपचार सेवाको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शु्भारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष चुमानले आमनागरिकलाई सर्वसुलभ तवरले स्वास्थ्य सेवा प्रदान गराउन प्रयत्न भइरहेको र सोही अनुसार सेवा थप गरिएको बताउनुभयो । सेवा विस्तारको क्रममा अस्पतालमा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवासम्बन्धी सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको गाउँपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौतापत्रमा एक साताअघि हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रत्येक १५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आँबुखैरेनीको मागबमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ चिकित्सक उपलब्ध गराउने छ । आँबुखैरेनी गाउँपालिकावासीलाई चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवामा २० प्रतिशत रकम छुट हुने छ । पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्नलाई आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पताल सञ्चालन गरेको छ ।

अस्पतालबाट विशेषज्ञ सेवासमेत दिन थालिएको छ । चितवन मेडिकल कलेजसँग भएको सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अध्यक्ष चुमानको विश्वास छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्नति, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभा हलमै अस्पताल सञ्चालन गरेको हो । 

गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ । आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्र सयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दुरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनु पर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”   

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १८:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology