गोदावरी, ललितपुर, माघ २८ – बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले वन व्यवस्थापनमा इमान्दार भएर लाग्न निर्देशन दिनुभएको छ ।
दिगो वन व्यवस्थापन कार्ययोजना तयारीसम्बन्धी तालिम उद्घाटन गर्दै मन्त्री सिलवालले वन क्षेत्रका कर्मचारीहरूलाई लोभ, लापरबाही र प्रलोभनमा नपरी इमानदार भएर काम गर्न निर्देशन दिनुभएको छ। ललितपुरको गोदावरीमा आयोजित ‘दिगो वन व्यवस्थापन कार्ययोजना तयारी तथा सम्बन्धित अधिकृत तथा सहायकस्तर पाँचौं कर्मचारीहरूको लागि तालिम’ को उद्घाटन गर्दै मन्त्री सिलवालले वन स्रोतहरूको दीर्घकालीन उपयोगका लागि दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गरे।
“वन क्षेत्र समृद्ध भए देशको अर्थतन्त्र नै मजबुत हुन्छ। यसका लागि नीति, प्रविधि र इमानदारी सबै एकसाथ आवश्यक छ,” उनले भने। मन्त्री सिलवालले वन कर्मचारीहरूलाई पारदर्शी प्रशासन, वैज्ञानिक वन व्यवस्थापन, वातावरणीय सन्तुलन र हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
साथै, उनले वनजन्य स्रोतको सदुपयोग गर्दै गैरकानुनी तस्करी तथा वन अतिक्रमण रोक्न स्थानीय तह र समुदायसँग सहकार्य गर्न निर्देशन दिए। उक्त तालिममा प्रदेशका विभिन्न जिल्लाका वन अधिकृत तथा सहायकस्तर पाँचौं तहका कर्मचारीहरू सहभागी छन्।
तालिममा दिगो वन व्यवस्थापन नीतिहरू, जलवायु अनुकूलन रणनीति, वनजन्य उत्पादनको व्यवसायीकरण, वन निगरानी प्रणाली, प्रविधिको उपयोग, र वातावरणीय प्रभाव मूल्यांकन जस्ता विषय समेटिएको छ। तालिमले वन क्षेत्रमा काम गर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै व्यावसायिक दक्षता वृद्धि गर्ने अपेक्षा गरिएको छ।