Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै

पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै

images

इच्छाकामना न्युज

२९, कार्तिक २०८३
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
images

काठमाडौं । खोप अभियानप्रति जन समुदायको अस्वीकार र सरकारी स्वास्थ्य संस्थाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण बन्दै गएको छ । सन् २०२६ मा मात्रै पाकिस्तानमा पोलियोका नौवटा घटना पुष्टि भएका छन् । नोभेम्बर ६ मा खैबर जिल्लाका सात महिनाका बालकमा पोलियो संक्रमण पुष्टि भएसँगै यस वर्ष संक्रमितको संख्या नौ पुगेको हो । यस वर्ष पुष्टि भएका घटनामध्ये सातवटा खैबर पख्तुनख्वा प्रान्तमा देखिएका छन् ।

पाकिस्तानको सञ्चारमाध्यम डनका अनुसार झन्डै तीन दशकदेखि पोलियो उन्मूलनका लागि प्रयास भइरहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट अर्बौं अमेरिकी डलर सहयोग प्राप्त भएको छ भने चार लाखभन्दा बढी खोपकर्मी परिचालन गरिएका छन् । यति लामो प्रयासका बाबजुद पाकिस्तानले पोलियो उन्मूलन गर्न सकेको छैन ।

पोलियो उन्मूलनमा देखिएको समस्या खोपको उपलब्धता र भौगोलिक कठिनाइमा मात्रै सीमित नरहेको डनको समाचारमा उल्लेख छ । सरकारी निकाय तथा स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास कमजोर हुनु पनि अभियानको प्रमुख चुनौती बनेको छ । सुरक्षा चुनौती, जनसंख्याको आवतजावत, दुर्गम भौगोलिक अवस्था, गलत सूचना र खोपप्रतिको अनिच्छाले खोप अभियान प्रभावित भइरहेको छ ।

तर, खोप टोली नियमित रूपमा पुग्ने समुदायबाट समेत बारम्बार खोप अस्वीकार हुनुले सरकारी संस्थाप्रतिको अविश्वास गहिरो रहेको देखाएको समाचारमा उल्लेख छ । विशेषगरी आधारभूत स्वास्थ्य सेवा, मातृ स्वास्थ्य सेवा, नियमित बाल खोप र स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित समुदायमा सरकारी स्वास्थ्य सेवाप्रति असन्तुष्टि देखिएको छ । कतिपय परिवारका लागि पोलियो खोपकर्मी नै घरसम्म पुग्ने सीमित सरकारी प्रतिनिधिमध्ये पर्ने गरेका छन् । तर, उनीहरूले अन्य स्वास्थ्य समस्या बेवास्ता गरेर पोलियो खोप अभियानलाई मात्रै प्राथमिकता दिएको बुझाइ समुदायमा रहेको डनले जनाएको छ ।

डनले सन् २०२३ डिसेम्बरमा प्रकाशित ब्रिटिस मेडिकल जर्नलको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण खैबर पख्तुनख्वाका आदिवासी समुदायका जिरगाले त्यस वर्ष मात्रै ६७७ पटक खोप अभियान बहिष्कार गर्ने निर्णय गरेको उल्लेख गरेको छ । ती समुदायले विद्युत्, सडक, रोजगारी र नागरिक सुविधाको माग पूरा गराउन खोप अभियान बहिष्कारलाई दबाबको माध्यम बनाउने गरेका छन् । पाकिस्तानको पोलियो कार्यक्रमले समेत केही समुदायले स्थानीय समस्या समाधानका लागि खोप अभियान बहिष्कार गर्ने गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

खोप अभियान सञ्चालन गर्ने टोलीभित्र पनि विभिन्न कमजोरी रहेको डनको समाचारमा उल्लेख छ । महिला खोपकर्मीको पर्याप्त उपलब्धता नहुनु, कर्मचारी बारम्बार परिवर्तन हुनु र आवश्यक तालिमको कमीले अभियान प्रभावकारी हुन सकेको छैन । खोप अभियानप्रति समुदायको प्रतिरोध कम गर्न स्थानीय स्तरमा विश्वास प्राप्त व्यक्तिहरूलाई सहभागी गराउनुपर्ने र सर्वसाधारणसँग प्रभावकारी संवाद गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै,पोलियो उन्मूलनका लागि सञ्चालन हुँदै आएका आकस्मिक खोप अभियानलाई प्रान्तीय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

खोप पूर्वाधार, तालिमप्राप्त जनशक्ति र रोग निगरानी प्रणालीलाई स्थायी सार्वजनिक स्वास्थ्य सेवाको हिस्सा बनाउन सके पोलियो उन्मूलन प्रयास प्रभावकारी हुने डनको विश्लेषण छ । पाकिस्तानमा पोलियो उन्मूलनको चुनौती खोप पु¥याउने विषयमा मात्रै सीमित नभई स्वास्थ्य सेवाप्रतिको विश्वास, आधारभूत सेवा विस्तार र स्थानीय समुदायका आवश्यकता सम्बोधनसँग समेत जोडिएको देखिएको छ । एएनआई

 

 
 

images
प्रकाशित मिति :कार्तिक २९, २०८३ शनिवार - १३:५७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology