भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताएकी छन् ।
भरतपुर–९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न ‘एक कक्षा कोठा, एक शिक्षक’, दिवा खाजा संघीय सरकारले दिने १० रुपैयाँमा ५ रुपैयाँ थप गरिएको, छात्राहरुलाई साइकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गरिन् ।
प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि त्यसअनुसारको नतिजा प्राप्त गर्न नसकेको अवस्थामा भरतपुरले शिक्षामा फड्को मारेको बताइन् । ‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’, उनले भनिन्, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’
विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने बताउँदै प्रमुख दाहालले छिट्टै राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिइन् ।
‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उनले भनिन्, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
व्यावहारिक शुक्रबार भनेर विद्यार्थीहरुलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक शिक्षा दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका मह¤वपूर्ण रहने धारणा उनले व्यक्त गरेकी छन् ।
समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनुपूर्व भरतपुर-८ र ९ को चोकबाट ¥यालीसमेत निकालिएको थियो ।