तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । तर सबैतिर खेर फाल्ने गरिएका केराका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादन बनाउन प्रयोग गरिरहेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।
केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए । उनले भने, 'स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ, यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ ।'
आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्काे चरणको तालिम दिइने प्रमुख आचार्यले बताए । यस्ता तालिममार्फत महिलालाई सीपयुक्त र आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
महिला उद्यमी सङ्घ शुक्लागण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खानमात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताइन् । तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताएका छन् ।