चितवन, माघ २६। चितवनमा संघीयता खारेजी माग राख्दै मोटरसाइकल र्याली निकालिएको छ । राष्ट्रिय जनमोर्चा चितवनले आगामी चैतमा हुने संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्नका लागि आज (शनिबार) चितवनमा मोटरसाइकल र्याली निकालेको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले नेपालमा संघीयता आवश्यक नभएको भन्दै संघीयता खारेज अभियानलाई सहयोग गर्न सम्पूर्ण नेपालीलाई आह्वान समेत गरे ।
‘नेपालमा संघीयता लागु भएपछि जनताले धान्नै नसक्ने गरी महङ्गी बढेको छ । युवाहरु दिनप्रतिदिन विदेश पलायन भइरहेका छन्,’ उनले भने ‘देशको अनावश्यक खर्च बढाउने प्रदेश संरचना खारेज गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्दछु ।’ संघीयताकै कारण अहिले मालपोत करदेखि दर्ता शुल्क लगायतका क्षेत्रमा कर बृद्धि गरिएको ढुंगानाको धारणा छ ।
राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष अमर क्षेत्रीको नेतृत्वमा निकालिएको ¥यालीमा अखिल नेपाल ट्रेड युनियनका महासचिव शालिकराम सापकोटा, जनमोर्चाका केन्द्रिय सदस्य डम्मर पुरी लगायतका नेकपा मसाल र जनमोर्चाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । चितवनका विभिन्न स्थानमा निकालिएको ¥यालीले सहिदचोक, धर्मचोक, क्यान्सर गेट, हेल्थपोष्टचोक, केन्द्रीय बसपार्क, क्लब चोक, बकुलर चोक, टाँडीचोक लगायतका स्थानमा कोण सभा समेत गरेको जिल्ला अध्यक्ष क्षेत्रीले जानकारी दिए ।