Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले रत्ननगरको नगर अधिवेशन सुरू : ‘सुकुमबासी समस्या समाधान गर्न अध्यादेश’

एमाले रत्ननगरको नगर अधिवेशन सुरू : ‘सुकुमबासी समस्या समाधान गर्न अध्यादेश’

images

इच्छाकामना न्युज

२०, माघ २०८१
एमाले रत्ननगरको नगर अधिवेशन सुरू : ‘सुकुमबासी समस्या समाधान गर्न अध्यादेश’
images

रत्ननगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सुकुमबासी समस्या समाधानका लागि सरकारले अध्यादेश जारी गरेको बताएका छन् । नेकपा एमाले रत्ननगर नगर कमिटीको १०औँ नगर अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले सुकुमबासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारे ।

‘शासनसत्ता टिकाउन अध्यादेश ल्याइएको होइन’, उनले भने, ‘विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश ल्याएको हो ।’ अध्यादेश संसद्मा टेबल भएको भन्दै उनले पास भएलगत्तै सुकुमबासीलाई लालपुर्जा वितरण, ठूला आयोजनाको निर्माण, आइटी उद्योग सञ्चालन हुने बताए । अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुतगतिमा अगाडि बढ्ने उनको भनाइ छ ।

नेता पोखरेलले लामो समयदेखि रोकिएको सुकुमबासीलाई लालपुर्जा वितरणको काम सुरू हुने बताए । उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएको बताए । ‘मुलुक सङ्कटमा जाने अवस्था भएपछि दुई ठूला पार्टी मिलेका हौ’, उनले भने, ‘त्यो राष्ट्रिय आवश्यकता थियो ।’

मुलुक अप्ठयारोमा पर्दा कांग्रेस र कम्युनिस्टहरु मिल्ने गरेको लामो इतिहास रहेको भन्दै उनले राणाविरोधी आन्दोलनदेखि २०६२/६३ को आन्दोलनसम्म आइपुग्दा पटकपटक कांग्रेस र कम्युनिस्ट एक ठाउँमा उभिएको इतिहास रहेको बताए । मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दलबीचमा प्रतिस्पर्धा हुने बताए । कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा सधैँ रहेको भन्दै उनले आगामी निर्वाचनमा दुई ठूला दलको बीचमा प्रतिस्पर्धा हुने तर्क गरे ।

स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले विचार र सिद्धान्तको हिसाबले एमाले मुलुकको उत्कृष्ट पार्टी भएको बताए । जनताको अधिकार स्थापित गर्न एमालेले भूमिका खेल्दै आएको भन्दै उनले सामाजिक न्यायको पक्षमा एमाले सधैँ उभिँदै आएको बताए । एमालेलाई अहिले चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले सङ्कटसँग जुध्न पार्टीलाई कार्यकर्ताको साथ आवश्यक पर्ने बताए । देशभित्रका र देशबाहिरका शक्तिहरु एमालेलाई सिध्याउन लागिपरेको भन्दै उनले एमालेलाई कुनै पनि शक्तिले कमजोर बनाउन नसक्ने बताए ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १०० वटा पालिकामा एमालेले नगर अधिवेशन सम्पन्न गरेको बताए । पार्टीलाई पुनर्जीवन दिने गरी एमालेका वडा, नगर र जिल्ला कमिटीको अधिवेशन सम्पन्न गरी नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ । उनले एमालेलाई पुरानै अवस्थामा फर्काउन पार्टी निर्माणको कामलाई सूत्रबद्ध तरिकाले अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा पार्टी निर्माणमा योगदान गरेका गोकर्ण कट्टेल, बालकृष्ण कोइराला, मानबहादुर तामाङ, पूर्णमान श्रेष्ठ, खड्गकुमारी ढुङ्गाना, छायादेवी गौतम, हर्कबहादुर अधिकारी, धनवीर महतो, टङ्कप्रसाद ढकाललाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिए ।

नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरु प्रभा बराल, कपिलदेव पोखरेल, स्थायी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेल, जिल्ला अध्यक्ष कमलराज पाठक, रत्ननगरका संस्थापक मेयर नारायण वन, उपमेयर यादवप्रसाद पाठक, कालिका नगर कमिटीका अध्यक्ष केशव लामालगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर वडा नं–१, सौराहा चोकस्थित होटल गंगोत्री हाइवेमा अधिवेदन उद्घाटनपूर्व रत्ननगरको टाँडी बजारमा भव्य शोभायात्रा निकालिएको थियो । ३०० प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालका लागि एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर कमिटी चयन गर्ने छ ।

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १०:००:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology