आँबुखैरेनी, माघ । आँबुखैरेनी योग तथा खुसी समाज तनहुँको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका–३, स्थित मस्र्याङ्गदी बालज्योति आवाशिय माध्यमिक विद्यालयको प्राङ्गणमा समाजका अध्यक्ष पम्फादेवी श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता एवं पतञ्जली योग समितीका केन्द्रिय सदस्य गुरु लोकनाथ खनालको विशिष्ट आतिथ्यतामा समाजको प्रथम साधारण सभा सम्पन्न भएको हो ।
आँबुखैरेनी योग तथा खुसी समाजका उपाध्यक्ष गैरी प्रधानले स्वागत मन्तव्य राख्नुभएको उक्त साधारण सभामा समाजका अध्यक्ष पम्फादेवी श्रेष्ठले संस्थाको सुरुवात देखि हाल सम्मको अवस्थाको बारेमा जानकारीका साथ साथै वार्षिक प्रतिवेन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा, आँबुखैरेनी योग तथा खुसी समाजका साधक साधिकाहरुले योगले दिएका खुसीहरुका अनुभव साटसाट गर्दै सुर्य नमस्कार, उष्ट्रा आशन, हनुमान बैठक, भूमि नमस्कार, रमाईलो आशन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । चुमानले स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने संख्या दिन प्रति दिन बढ्न थालेकोले सबैले योग गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
यस्तै, आँबुखैरेनी योग तथा खुसी समाजका अध्यक्ष पम्फादेवी श्रेष्ठले शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि दैनिक योग गर्न आवश्यकता रहेको बताउनुभएको छ । योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रियसँगै शरीरका बिकारहरु क्रमशः हट्दै जाने र शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकोले सम्पूर्णलाई योग गर्न आग्रह गर्नुभएको छ ।
यसैगरी, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले आँबुखैरेनी योग तथा खुसी समाजलाई हाल सम्म धेरै सहयोग गर्नुभएको र जन्म दिनको अवसरमा सहयोग गर्न उहाँले शुरुवात गर्नुभएको थियो ।
उक्त साधारणसभा कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, पतञ्जली योग समितीका केन्द्रिय सदस्य लोकनाथ खनाल, गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, पतञ्जली योग समितीका जिल्ला अध्यक्ष यातयात प्रभारी मिलन न्यौपाने, वडा नं. ३ का वडाअध्यक्ष मनोज कुमार श्रेष्ठ, आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष नस्तुराम कंडेल, एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बावुराम देवकोटा, प्रगती टोल सुधार समितीका अध्यक्ष दिनेश कार्की, मस्र्याङ्गदी बालज्योति आवाशिय माध्यमिक विद्यालयका प्रिन्सिपल नविन श्रेष्ठ, शिव मन्दिर संरक्षण समितीका अध्यक्ष केशव खनाल, पतञ्जली योग समिती आँबुखैरेनीका निवर्तमान सचिव पृथ्वी बहादुर गुरुङ्ग, ताओ मन्दिरका आँबुखैरेनीका अध्यक्ष याम बहादुर गुरुङ्ग, बह्मकृमारी राजयोग विश्वविद्यालयकी प्रमुख इन्द्रिरा पौडेल, योग साधिका बसुन्धारा कार्की लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका सचिव कुमारी गुरुङ्गले गर्नुभएको थियो ।
हाल, आँबुखैरेनी योग तथा खुसी समाजले आँबुखैरेनी गाउँपालिका–३, को तल्लोबजार स्थित ताओ मन्दिरको हल र आँबुखैरेनी फुटसलमा नियमित रुपमा योगभ्यास गर्दै/गराउदै आएको छ ।