आँबुखैरेनी, ११ माघ । तनहुँको आँबुखैरेनीमा शुक्रबार ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कार्यालय पोखराको आयोजनामा सो अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय पोखराका प्रमुख अस्मान तामाङ्गले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कार्यालय प्रमुख अस्मान तामाङ्गले भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तामाङ्गले आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गईरहेकोले प्रचलित कानूनको पूर्ण परिपालना गरी जनप्रतिनिधी एवं कर्मचारीहरुले आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गर्न सुझाव दिदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभयो ।
यस्तै, पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष चुमानले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय पोखराका प्रमुख अस्मान तामाङ्ग, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम तमु, वडा नं. २ का वडाअध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ४ का वडाअध्यक्ष मिलन भूजेल, वडा नं. ५ का वडाअध्यक्ष सन्तोष गुरुङ्ग, वडा सदस्य तथा कर्मचारीहरु एवं विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।