Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

images

इच्छाकामना न्युज

११, माघ २०८१
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री
images

काठमाडौं, माघ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गर्नुहुँदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।

  

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग छिचोलिने काम भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बोधनको पूर्णपाठः

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरु, मूख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत र यहाँ उपस्थित हुनुुभएका सम्पूर्ण महानुभावहरु

आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ । केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउनुुभएको थियो– ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड रु’ भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौँ वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दु:खदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसैकारण उब्जिएको थियो–‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत । त्यो जनताको आवाज गीतका रुपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे । 

आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङका रुपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो । म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए । तर हुन्छ, हुँदोरहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडबाडदेखि लिएर सबै कुराहरुको आदानप्रदान गर्न सक्नुहुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुुर्‍ याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुहुन्छ । अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थू्र भइसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्यूठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालीगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालका रुपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकामा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ ।

 

मैले धेरै अगाडि, जतिबेला नागढुङ्गा–नौबिसे सुरुङखण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युगमा प्रवेश गरेका छौँ । अब विस्तारैविस्तारै दुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाका रुपमा सुरुङ मार्गबाट वल्लोबेँसीबाट पल्लोबँसी र अझ पल्लोबँेसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ । पहाडका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौँ । हामी त्यहाँ लिङ्क रोडहरु बनाउँछौँ, रिभर करिडोरहरु बनाउँछौँ । नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउँदै लानेछौँ । विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङमार्गहरु, झोलुङ्गे पुलहरु, पुलहरु, हवाई यातायात, हवाईमार्गहरु, मैदानलगायतका अनेक केबलकारहरुजस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुगम र रमाइला ठाउँहरु र विकसित ठाउँका रुपमा परिणत गर्नेछौँ । त्यसकारण अब नेपाल विस्तारै दुर्गमबाट सुगम रुपमा, पिछडिएका देशबाट अगाडि बढेको देशका रुपमा, अल्पविकसित देशबाट विकासिल देशका रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुदैछ भन्ने यी कुराहरुले देखाएका छन् । 

 

 

म दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईं हामीको खुसीको हो । यो सिङ्गै देशको खुुसी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुसी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व–पश्चिम जानुपर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङमार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुरहरुलाई, इञ्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु । स्थानीय जनता, जसले यस सुरुङमार्गको निर्माणका लागि सरकारलाई झक्झक्याउने काम, हामी सबैलाई झक्झक्याउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्‍ याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरुको पनि सहयोग लिन सक्छौँ, अरुको लगानी आमन्त्रण गर्न सक्छौँ, अरुको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकताअनुसार स्वीकार गर्न सक्छौँ । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्नेछौँ । म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:३६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology