Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा शतबिज छर्न शुक्रवार नै हजारौं भक्तजन आईपुगे

देवघाटमा शतबिज छर्न शुक्रवार नै हजारौं भक्तजन आईपुगे

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
देवघाटमा शतबिज छर्न शुक्रवार नै हजारौं भक्तजन आईपुगे
images

देवघाट, मंसिर १४ । बालाचतुर्दशीको अवसरमा देवघाटमा शतबिज छर्न हजारौं भक्तजन आएका छन् ।

शनिबार हिन्दुहरुको पवित्र पर्व कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम एवं विभिन्न मठमन्दिर रहेको हुँदा देवघाटमा शतविज छर्न शुक्रबार साँझ नै टाढा टाढाबाट हजारौं भक्तजन आएका छन् ।

शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । देवघाटमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ ।

यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आएका छन् । भक्तजनहरु रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छर्ने गर्छन् । शतबिज छर्न आएका सर्वसाधरणको व्यवस्थापनको लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले संयुक्तरुपमा व्यवस्थापनको कार्य गरेको छ ।

नदी किनारमा बत्ती जडान, सौचालयको निर्माण तथा ट्राफिक व्यवस्थापनको काम भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले भक्तजनलाई कुनै असुविधा नहोस भनेर सुरक्षाकर्मीको व्यवस्थापन, सवारी साधनको व्यवस्थापनको काम गरिएको बताए । क्षेत्र विकास समितिले बेणी संगममा बिजुली बत्ती जडानको काम गरेको छ ।

भक्तजनको सुरक्षाकोलागि दमौली र चितवनबाट समेत प्रहरीहरु देवघाट झिकाईएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ ।

आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए (बगाए) पछि शतबीज छर्छन् ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - २२:३५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology