Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका वैज्ञानिक व्यवस्थापनअन्तर्गतका वनहरु दिगोमा रुपान्तरण हुँदै

चितवनका वैज्ञानिक व्यवस्थापनअन्तर्गतका वनहरु दिगोमा रुपान्तरण हुँदै

पत्रपत्रिका

६, मंसिर २०८१
चितवनका वैज्ञानिक व्यवस्थापनअन्तर्गतका वनहरु दिगोमा रुपान्तरण हुँदै
images

भरतपुर । चितवनका वैज्ञानिक व्यवस्थापनअन्तर्गतका वनहरु दिगोमा रुपान्तरण हुने भएका छन् । यसअघि वैज्ञानिक व्यवस्थापनमा चलिरहेका सामुदायिक वन तथा कबुलियती वनहरु दिगो वन व्यवस्थापनका लागि कार्ययोजना बनाइरहेका छन् । कति वैज्ञानिक वन व्यवस्थापनहरु दिगो व्यवस्थापनका लागि डिभिजन वन कार्यालय चितवनमा निवेदनसहित कार्ययोजनाहरु पेस गरिरहेका छन् ।

images
images

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार दिगो वन व्यवस्थापनका लागि आएका कार्ययोजनाहरु स्वीकृत गरिएको छ । सूचना अधिकारी पौडेलले भने, ‘वैज्ञानिक व्यवस्थापन खारेज भएपछि त्योअन्तर्गत चलेका वनहरुलाई दिगो वन व्यवस्थापनमा रुपान्तरण गर्ने योजना हो ।’ उनले दिगो व्यवस्थापनका लागि कार्ययोजनासहित आएका वनहरुलाई स्वीकृत गरिएको छ ।

सूचना अधिकारी पौडेलले ६ वटा सामुदायिक वनको कार्ययोजना स्वीकृत गरिएको बताए । उनले भने, ‘अरु वनहरु दिगो हुँदैनन् भन्ने होइन, आखिर सबै वनहरु दिगो नै हुन् । तर, बागमती प्रदेश सरकारले दिगो व्यवस्थापनका लागि कार्यविधि बनाएको छ, त्यो कार्यविधिअनुसार वनहरु रहनुप¥यो ।’ कार्यविधिअनुसार कार्ययोजना बनाएर काम गरेका छन् भने ती वनहरु दिगो वन व्यवस्थापनमा रुपान्तरण हुने उनले बताए । चितवनका यसअघिका सबै वैज्ञानिक वनहरु दिगो व्यवस्थापमा रुपान्तरण हुने डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

यसअघि चितवन जिल्लाका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन भएका थिए । चरणबद्ध तरिकाले जिल्लाका अन्य सामुदायिक वन जो वैज्ञानिक व्यवस्थापनमा थिए ती अब दिगोमा रुपान्तरण हुनेछन् ।

२०६८ सालबाट नेपालमा वैज्ञानिक वनको योजना सुरू भएको हो । पिप्लेको पशुपति कैलाशपुरी सामुदायिक वनलाई चितवनमा पहिलोपटक वैज्ञानिक व्यवस्थापन गरिएको हो । शिवशक्ति सामुदायिक वन पिप्ले, वनदेवी सामुदायिक वन, कंकाली सामुदायिक वन चैनपुर, अजिङ्गर सामुदायिक वन चैनपुर, अमृतधारा सामुदायिक वन राप्ती, दूधकोशी सामुदायिक वन राप्ती, सुरदेवी सामुदायिक वन, शिवपुरी सामुदायिक वन र शिखर सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन भएको थियो, यी वनहरु अब दिगो वन व्यवस्थापनमा रुपान्तरण हुनेछन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज भएको छ । २०६७ सालदेखि लागू भएको वैज्ञानिक वन व्यवस्थापन विवादित बनेपछि सरकारले २०७७ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेको हो ।

दिगो वन व्यवस्थापनमा बूढो रुख काटिन्छ । काटिएको ठाउँमा अर्को बिरूवा हुर्किरहेको हुन्छ । आगलागीबाट वनलाई जोगाउन फायरलेन बनाइन्छ । रुखबाट बीउ झरेर बिरूवा उम्रने वातावरण बनाइन्छ । चरिचरन हुन पाउँदैन । जुनसुकै रुख काट्न पाइँदैन । काटिएका रुखको गन्ती हुन्छ । कति रुख काटिए, कति उम्रे सबै हिसाबकिताब हुन्छ ।

वन तथा वातावरण मन्त्रालयले दिगो विकासको अवधारणामा आधारित वन व्यवस्थापन गर्न बनाइएको ‘दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड २०८१’ पारित गरेसँगै चितवनका सामुदायिक वनहरुले प्रादेशिक कार्यविधिअनुसार काम गरिरहेका छन् ।

२०७१ सालदेखि सामुदायिक, साझेदारी र चक्लाबन्दी वनमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्दै दिगो वन व्यवस्थापन कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो । यस निर्णयको कार्यान्वयनका लागि पटकपटक छलफल र बहसपछि हालै मापदण्ड–२०८१ पारित भएको छ । बागमती प्रदेश सरकारले दिगो व्यवस्थापनकै लागि ऐन निर्माण गरेको छ । ऐन कार्यान्वयनमा गइरहेको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०८१ बिहिवार - ०९:२७:११ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology