Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामना मन्दिरमा आज रातभर विविध सांस्कृतिक कार्यक्रम सहित भव्य पञ्चमी मेला लाग्ने

इच्छाकामना मन्दिरमा आज रातभर विविध सांस्कृतिक कार्यक्रम सहित भव्य पञ्चमी मेला लाग्ने

images

रासस

४, मंसिर २०८१
इच्छाकामना मन्दिरमा आज रातभर विविध सांस्कृतिक कार्यक्रम सहित भव्य पञ्चमी मेला लाग्ने
images

कुरिनटार ।  पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो ।

मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार आज रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । बुधबार बिहान ५ बजे सरकारी पूजासहित नियमित पूजापाठ सुरु हुने छभने बिहान १० बजे प्रसाद वितरण कार्यक्रम हुने उहाँले बताउनुभयो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।

केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ ।

मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ । इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो । पछिल्लो समय मनकामना, इच्छाकामना, छिम्केश्वरी र त्रिवेणीलाई चारधामका रूपमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय अभियन्ता तथा जनप्रतिनिधिले जोड दिएका छन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - ०७:५०:२९ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology