Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एपीएफ र एसएसबी प्रमुखको बैठक : अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति

एपीएफ र एसएसबी प्रमुखको बैठक : अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति

images

इच्छाकामना न्युज

३, मंसिर २०८१
एपीएफ र एसएसबी प्रमुखको बैठक : अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति
images

काठमाडौँ —सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न ‘साझा संकल्प’सहित नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ । नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठक दुवै देश सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित सोमबार आठौँ सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो । बैठकबाट अनुमोदन भएका ११ वटा साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर भएको हो । बैठकले सीमा सुरक्षा समन्वय बैठक वर्षमा एक पटक आलोपालो हुँदै आएकोमा अवदेखि वर्षमा दुई पटक आलोपालो गर्ने सहमति भएको छ । यसले सीमापार अपराध नियन्त्रण गर्न चालिएका कदमको समीक्षा र थप रणनीति बनाउन मद्दत पुग्ने दुवै पक्षका अधिकारीले बताएका छन् । तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठ, भन्सार छली/तस्करी, लागूऔषध ओसारपसार, सुन तस्करी, अवैध हातहतियार कारोबार, एक देशमा अपराध गरेर अर्को देशमा लुक्नेलगायत अपराधविरुद्ध जुध्न र दुवैतर्फ सीमा क्षेत्रमा बसोबार गर्ने नागरिकबीच सुमधुर सम्बन्ध कायम राख्न बैठकमा सहभागी दुवै तर्फका सुरक्षा अधिकारीहरूले प्रतिबद्धता जनाएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम र नियन्त्रणलाई आ–आफ्ना तर्फबाट प्रभावकारी बनाउने प्रतिबद्धतासहित साझा एजेण्डामा संयुक्त हस्ताक्षर गरेका छन् । बैठकबाट अनुमोदन भएका एजेण्डा दुवै देशले आ–आफ्ना तर्फबाट कार्यान्वयनमा लैजानेछन् । त्यसका लागि एपीएफ र एसएसबी प्रमुखदेखि सीमा सुरक्षार्थ तैनाथ बोर्डर आउट पोष्ट (बीओपी) सम्मका संयन्त्रले आपसी सहकार्य र समन्वय गरेर अघि बढ्ने जनाइएको छ । बैठकमा एपीएफ र एसएसबी प्रमुखसहित दुवै देशका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, नापी विभागलगायतका अधिकारी सम्मिलित थिए । नेपाल–भारत सीमा लम्बाई करिब १ हजार ८ सय ८० किमी छ । नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबी सीमा सुरक्षामा तैनाथ हुने दुवै देशका प्रमुख सुरक्षा निकाय हुन् । नेपाल–भारत खुला सीमानाका कारण तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण मुख्य समस्या देखिँदै आएको छ । त्यस्तै भन्सार छली/तस्करी, लागूऔषध ओसारपसार पनि दुवै देशका लागि मुख्य समस्याका रुपमा देखिएको छ । भारतले तेस्रो देशबाट नेपाल भएर भारतमा सुन तस्करी हुने गरेको भन्दै यसको नियन्त्रणमा नेपाल पक्षको ध्यानाकर्षण गराएको थियो । नेपाली पक्षले भारतीय सीमा क्षेत्रमा खुलेका मेडिकल पसलबाट गिरोहले अवैध अ‍ेसारपसार गर्ने गरेको भन्दै यसको नियमनमा ध्यानाकर्षण गराएको थियो ।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - २०:४४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology