आँबुखैरेनी, २३ असोज । अन्ततः आर्थिक अभावका कारण उपचार गर्ने पैसा नभएर बेलैमा अस्पताल पुगी उपचार गर्न नसक्दा आँबुखैरेनीका मृगौला पिडित ६२ वर्षिय मंगल ढकालको निधन भएको छ। विगत दुई वर्षदेखि डायलाइसिसको साहारामा बाँचिरहेका ढकालको बुधबार अस्पताल पुग्ने बित्तिकै निधन भएको हो।
पछिल्लो समय अचेत बनेका उनको उपचारका लागि काठमाडौं लगिएको थियो । आर्थिक अवस्था बलियो नभएकाले शुभेच्छुकले डायलसिसका लागि सघाइरहेका उनी बोल्नै छाडेर अचेत बने पछि लायन्स क्लव अफ आँबुखैरेनीका पूर्व अध्यक्ष एवं व्यवसायी सुरेन्द्र श्रेष्ठले एम्बुलेन्स तथा ढकालटारका प्रशन्न अधिकारीले पाँच हजार नगद सहयोग गरेका थिए।
तर रकम जोहो गर्दा गर्दै ढिलो भैसकेको थियो। उपचारको खोजीमा रहेका मंगलले अन्ततः आर्थिक अभावकै कारण बेलैमा उपचार गर्न नसक्दा मृत्युवरण गर्न पुगेका छन् ।
डायलसिसमा धेरै खर्च भए पछि उनको उपचारका लागि पछिल्लो समय आफन्त र शुभेच्छुकले सहयोग गरिरहेका थिए।