Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कोदो खेती गर्ने घटे, कुपोषण बढ्यो

कोदो खेती गर्ने घटे, कुपोषण बढ्यो

पत्रपत्रिका

२९, भाद्र २०८१
कोदो खेती गर्ने घटे, कुपोषण बढ्यो
images

बैतडी  । स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि पोषणमा सुधार गर्ने कोदो खेती भने घट्दै गइरहेको छ । पालिकाले कोसेलीका नाममा सुत्केरी महिलालाई अन्डा, घिउका डब्बा र कुखुराको भाले बाँडे पनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापर खेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुषोषण बढेको छ ।  

images
images

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक २०७९/८० मा एक हजार ९३४ जना बालकालिका कुपोषित भेटिएका छन् । यीमध्ये ३१२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा तौल निकै कम छ भने अनुहार पनि ख्याउटे भएको पाइएको छ । पोषण सुधार गर्न स्थानीय तहले कृषि, पशु र स्वास्थ्य कार्यालयसँग समन्वय बढाउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । उहाँले स्थानीय बाली कोदो, फापर, चिनो र मादुरो खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तहले रैनाथे बालीलाई प्रोत्साहन नगर्दा मेलौली नगरपालिका–९ मा ३५६ परिवारमध्ये ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । वडाभरि जम्मा ३४ परिवारले मात्रै गहतको दाल खेती गरेका छन् । गाउँबाट युवा पलायन भएपछि अधिकांश जमिन बाँझो रहेको छ । यहाँ वार्षिक ९० लाख रुपियाँको चामल आयात हुने गरेको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । 

यस्तै अवस्था अन्य पालिकाको पनि रहेको छ । जिल्लालाई वार्षिक ५८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ठुलो परिमाणमा चामल आयात हुने गरेको छ । पोषणमा सुधार गर्ने रैनाथ बाली हराउँदै जान थालेपछि कुषोषण बढेको छ । जिल्लाका १० स्थानीय तहमा करिब दुई हजार हाराहारीमा कुपोषित बालबालिका भेटिएका छन् । 

हराए कोदोका परिकार

सुदूरपश्चिमतिर कोदोको हलुवामा घिउ र सक्खर मिलाएर खाने चलन हराउन थालेको छ । सुत्केरी महिलालाई गाईको घिउमा स्थानीय गुड मिलाएर कोदोको हलुवा खान दिने चलन हराइसकेको छ । कोदो फलाउने र यसको परिकार खाने चलन हराउँदै जान थालेपछि कुपोषण बढेको पाइएको छ । जिल्लामा पहिले कोदोको माणा र हलुवा खाने चलन थियो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । स्थानीय अन्नलाई प्रोत्साहन गर्न गाउँपालिकाले विद्यालयको दिवा खाजामा स्थानीस्तरमै फलेको कोदो, गेडागुडी र अन्नलाई प्राथमिकता दिने गरी दिवा खाजाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

रैनाथे बिउ मासिए

जिल्लामा पोषण सुधार गर्न आएका विभिन्न सङ्घ संस्थाले बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका उन्नत जातको बिउ भन्दै बाँड्न थालेपछि रैनाथे बिउ मासिएको अगुवा किसान चिन्तामणि भट्टले दाबी गर्नुभयो । अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “रायो, मुला, बैगन, भटमास र कुखुरा बाँड्दा सबै उन्नत जातको भनेर बाँड्न थालेपछि अचेल कुखुरा पनि ओथारो बस्दैन । तरकारीको बिउ पनि राख्न मिल्दैन ।”

पोषण सुधार गर्न भन्दै संस्थाहरूले बाँडेका गिरिराज नामका उन्नत जातका कुखुराले फुल पार्ने तर ओथारो नबस्दा पोषणको कार्यक्रम सकिनेबित्तिकै कुखुरा पनि सकिने गरेको किसानले बताएका छन् । स्थानीय जातको कुखुरा बाँडेको भए ओथारो बसेर कुखुराको सङ्ख्या बढ्ने भए पनि प्राथमिकता नदिएको किसानको गुनासो छ ।    गोर्खापत्रबाट

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०९:०७:१८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology