रेखबहादुर गुरुङ, धादिङ । गुरुङ महिलाहरुको संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय पार्षद सभा सदरमुकाम धादिङबेसीमा हुने भएको छ । यहि असोज ५ गते हुने पार्षद सभाको तयारी तिब्र पारिएको छ । पार्षद सभा सम्पन्न गर्नको लागि विभिन्न समितिहरु बनाएर तयारीलाई तिब्रता पारेको हो ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष निरु तमूस्योको संयोजकत्वमा आर्थिक समिति तयार गरेको छ । यस्तै अतिथि सतकार समिति, भान्सा व्यवस्थापन, प्रचार प्रसार लगायतका समिति उपसमितिहरु बनाएर सोही अनुसारको काम भइरहेको तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले बताउनुभयो ।
धादिङबेसी सिरान बजार स्थित क्रिक रिसोर्टमा संचालन हुने पार्षद सभामा नेपालको ४७ जिल्लाबाट १ सय ८० जना प्रतिनिधिको सहभागीता रहने अध्यक्ष जमुना तमुस्योले बताउनुभयो । पार्षद सभाले विधान शंसोधन, आगामी कार्य योजनाका विषयमा निर्णय गर्ने अध्यक्ष जमुना तमूस्योले बताउनुभयो । तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय समितिको आयोजना र जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा पार्षद सभा हुन लागेको हो ।