Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भाषा संरक्षणमा जुट्यो चितवनका गुरुङ समुदाय

भाषा संरक्षणमा जुट्यो चितवनका गुरुङ समुदाय

रासस

२४, भाद्र २०८१
भाषा संरक्षणमा जुट्यो चितवनका गुरुङ समुदाय
images

मुग्लिन (चितवन) । चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो ।

images
images

जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायमा मातृभाषा लोप हुँदै गएपछि संरक्षण गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार गरी भाषाको कक्षा सञ्चालन गर्ने तयारी गरिएको परिषद्की अध्यक्ष विमलादेवी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष पनि १५ दिनको भाषा कक्षा सञ्चालन गरेका थियौँ, त्यसलाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पाठ्यपुस्तक प्रकाशन गरी कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ ।”

राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कुल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ । “कुल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन छैन, यहाँ पछिल्लो समय भाषाको ज्ञान हराउँदै गएको हुँदा भावी पुस्तासम्म पु¥याउन पनि तालिम आवश्यक छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

तमू भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक एवं ह्युल छोंज धीँका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङका अनुसार गत वर्ष भरतपुरमा मात्रै भाषा कक्षा सञ्चालन गरिएको थियो । यस वर्ष भरतपुरसहित रत्ननगर र इच्छाकामनामा पनि कक्षा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

गुरुङले भन्नुभयो, “कम्तीमा तालिम लिन चाहनेलाई सहज होस् भन्ने उद्देश्यका साथ यस वर्ष आधारभूत ज्ञानसहितको पाठ्यपुस्तक तयार गरिरहेका छौँ, छापाको काम भइरहेको छ ।” पुस्तक छापिएपछि तत्काल कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

पुस्तक प्रकाशन समिति सदस्य किशोर गुरुङले छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कम्तीमा आधारभूत तहको पुस्तक भए पनि जिल्लाबाट प्रकाशन गर्दा यसले आगामी दिनमा पनि भाषा संरक्षण र प्रवर्द्धनमा टेवा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तमू ह्युल छोंज धीँले गर्नैपर्ने एउटा महत्वपूर्ण काम हामीले गर्न खोजिरहेका छौँ, हाम्रो पुस्ताले थोरै मिहिनेत गरे नयाँ पुस्तालाई सहज हुने भएकाले यसपटक हामीले पाठ्पुस्तक तयार गरेका हौँ ।”

प्रकाशन समिति सदस्य गुरुङका अनुसार गुरुङ भाषाको आफ्नै खेमा लिपि भए पनि नेपाली अक्षरबाट भाषा कक्षा सञ्चालन गरिने छ । “करिब लोप हुने अवस्थामा रहेको खेमा लिपिका लागि भाषा जानेको व्यक्तिले पनि सिक्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयोे, “खेमा लिपि सिकाउने पनि योजनाभित्र छ, सहज छैन, त्यसकारण नेपाली अक्षरबाट पाठ्यपुस्तक निर्माण गरी कक्षा सञ्चालन गर्नेछौँ ।”

भूगोलका हिसाबले चितवनका रैथाने गुरुङहरु भाषामा कमजोर छन् । बाहिरी जिल्लाबाट आएर बसेकाहरुले पनि बिर्सँदै गएपछि भाषा हराउने जोखिम बढ्दै गएको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - २०:२२:०७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology