Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संस्कृति संरक्षणको प्रयासमा प्ये ल्हु संघ चितवन, दोस्रो बृहत् खेगी भेला सम्पन्न

संस्कृति संरक्षणको प्रयासमा प्ये ल्हु संघ चितवन, दोस्रो बृहत् खेगी भेला सम्पन्न

इच्छाकामना न्युज

१०, भाद्र २०८१
संस्कृति संरक्षणको प्रयासमा प्ये ल्हु संघ चितवन, दोस्रो बृहत् खेगी भेला सम्पन्न
images

तुलमान गुरूङ, भरतपुर । तमू जातिको सांस्कारिक कृयाकलापलाई संरक्षण गर्ने योजनासहित तमू प्ये ल्हु संघ चितवनले सोमबार चितवनमा बृहत् दोस्रो खेगी (धर्मगुरू) भेला गरेको छ। भेलामार्फत जिल्लाभर बस्ने खेगीहरूसँग समग्र तमू जातिबीच सम्बन्ध थप सुमधुर बनाउन पनि भेलाले भूमिका खेल्ने संघका चितवन जिल्ला अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए। 

images
images

तमू प्ये ल्हु संघ चितवनका संस्थापक कोषाध्यक्ष एवम् पूर्वअध्यक्ष भीमबहादुर गुरूङले प्ये छ्याबारे समग्र तमू जातिलाई बुझाउनको लागि खेगी भेला फलदायी हुने बताए। नयाँ पुस्तामाझ पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गराउन पनि यस्ता गतिविधि आवश्यक पर्ने उनले बताए। ‘पुरानो पुस्ताले पनि यो कामलाई निरन्तरता दिएन भने भोलिको पुस्ताले आफ्नो जातिको अस्तित्व नै बिर्सन्छ,’ उनले भने, ‘त्यसैले अहिलेको पुस्ताले पनि यसलाई संरक्षण गर्नुपर्छ।’ 

आदर्श टोल तमू समाजका अध्यक्ष गणेश गुरूङले भने समयअनुसार खेगीचोँगीको कार्यशैलीलाई रूपान्तरण गर्दै लैजानुपर्ने सुझाव दिए। पुराना संस्कृतिको नाममा विकृतजन्य कृयाकलापलाई छोड्दै गुरूङ जातिको विशेष कर्मकाण्डी प्रकृया के हो भन्ने बुझाउन आवश्यक रहेको उनले बताए। ‘पछिल्लो समय अन्य संस्कृति र धार्मिक गतिविधिप्रति हाम्रो समुदायको पनि चासो बढ्दै गएको छ,’ उनले भने, ‘त्यो हाम्रै कारणले भइरहेको छ। किनकि नयाँ पुस्तालाई हामीले हाम्रै संस्कार सिकाउन सकेनौँ।’ 

457252706_1720690208746065_4814819079352840241_n.jpg

प्येमा एकरूपता आवश्यक 
कार्यक्रममा उपस्थित खेगीहरूले तमू जातिको संस्कार, संस्कृतिसम्बन्धी प्ये (वेद)मा एकरूपता ल्याउनु आवश्यक रहेको बताएका छन्। ठाउँ र भेगअनुसार तमू भाषामा देखिएको विविधताले खेगीको प्येमा पनि विविधता देखिँदा सबैको बुझाइ एकनासको हुन नसकेको खेगी (घ्याप्री गुरू) चित्रबहादुर गुरूङले बताए। 

सबै खेगीको बुझाउने शैलीमा एकरूपता नहुँदा त्यसमाथि अन्य संस्कारले प्रवेश पाएको उनको भनाइ छ। ‘हाम्रो संस्कार र संस्कृतिको महत्व कमजोर हुँदै जानुमा हामी नै दोषी छौँ,’ उनले भने, ‘किनकि सबै तमूहरूलाई बुझाउने ठाउँमा हामी नै छौँ । त्यसैले बुझाउनु पनि हामीले नै पर्छ। बुझाउन नसक्नु हाम्रो कमजोरी हो ।’ खेगीबाट फरक शैलीमा साँस्कृतिक कुरा बाहिर आउँदा नयाँ पुस्ता अलमलमा परेको उनले बताए। 

‘यता हामीले बुझाउन नसक्नु, उता अरूले लोभ र प्रभावमा पार्नु। यी दुवै मिलेपछि त्यसले हाम्रो जातीय पहिचानमै ठूलो असर पारेको छ,’ उनले भने, ‘त्यसैले हाम्रो समाजलाई कतातिर लैजाने भन्ने भूमिका खेगीहरूकै हातमा छ।’ 

अर्का घ्याप्री गुरु नवराज गुरूङले जिल्लाअनुसार भाषा फरक भए पनि आफूले गर्दै आएको कर्म र त्यसबाट हुने प्रभावबारे खुलेर जानकारी गराउन सक्नुपर्ने बताए। ‘हामी विभिन्न जिल्लाबाट आएर बसेका छौँ। र, ठाउँअनुसार हाम्रो भाषामा पनि केही तलमाथि छ,’ उनले भने, ‘त्यसको प्रभाव खेगीको वेदमा पनि देखिन्छ। तर, हाम्रो जन्मदेखि मृत्युपछिसम्म चल्ने साँस्कारिक चलनको विषयमा राम्रोसँग बुझाउन नसक्दा कति गुरूङहरू आफ्नो संस्कार र संस्कृतिभन्दा बाहिर गइसकेका छन्। अब हामीले जोगाउने प्रयास गर्नुपर्छ।’ 

पैँडी गुरू ज्ञानबहादुर गुरूङले गुरूङ जाति भएपछि यो समुदायमा नभई नहुने वर्ग, पार्क र मेवाबारे पूर्ण जानकारी राख्न सक्नुपर्ने बताए। त्यसको लागि जानकार व्यक्तिहरूले बुझाउँदै पुराना मौलिक संस्कारलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ। 

456318326_8058785750867489_3184254332674831678_n.jpg

खेगी समितिमा चित्रबहादुर 
सोमबार भरतपुर–११, नौरङ्गेमा भएको सोही भेलाले चितवन जिल्ला खेगी समितिको नयाँ कार्यसमितिसमेत गठन गरेको छ। तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार चित्रबहादुर को गुरूङको अध्यक्षतामा हाललाई ७ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको सचिवमा खुसीमान क्रोम्छे गुरूङ, कोषाध्यक्षमा गनबहादुर क्होला गुरूङ चयन भएका छन्। 

समितिको उपाध्यक्षसहित कार्यसमितिमा दुई जना सदस्य पछि थप गर्नेगरी नयाँ समिति गठन गरिएको हो। 

समितिले चार सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ। समितिमा रत्नबहादुर गुरूङको संयोजकत्वमा सुन्दर गुरूङ, पदमबहादुर गुरूङ र हस्तबहादुर गुरूङ सदस्य रहने गरी सल्लाहकार समिति गठन गरिएको हो।

images
प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - १९:४३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology