कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाबाट २०८० सालको एसइई परीक्षामा सहभागी विद्यार्थीहरु मध्य अधिकांश विद्यार्थीहरु फेल भएको पाईएको छ । आज सार्वजनिक भएको एसइईको नतिजा अनुसार इच्छाकामना गाउँपालिकाका सामुदायिक विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्य करिब ८८ प्रतिशत विद्यार्थीहरु फेल भएको पाईएको हो ।
नतिजा अनुसार गाउँपालिकाका ८ वटा माध्यामिक विद्यालयहरुका ३ सय ८ जना विद्यार्थीहरु परीक्षामा सहभागी थिए । जसमा ३८ जना विद्यार्थी मात्र पास भएका छन् भने बाँकी २ सय ७० जना विद्यार्थीहरु फेल भएका छन् । यद्यपी फेल भएका ७७ जना विद्यार्थीहरुले पनि पुरक परीक्षा दिन पाउनेछन् ।
परीक्षामा सहभागी गाउँपालिकाका ३ वटा विद्यालयको नतिजा निल आएको छ । जनप्रिय मावि काउले, माझगाउ मावि दारेचोक र श्रीमावि ढुङ्ग्रेबाट सहभागी सबै विद्यार्थी फेल भएका छन् । यी विद्यालयहरुबाट परीक्षामा क्रमशः १३, १६ र १८ जना विद्यार्थीहरु सहभागी थिए । स्मरण रहोस् माझगाउँ मावि दारेचोकको गाउँपालिका स्तरीय आधारभुत तह परीक्षा कक्षा ८ को नतिजामा पनि निल भएको थियो ।
नतिजालाई हेर्दा सबैभन्दा बढि विद्यार्थी हात्तिवाङ मावि काउलेबाट २३ जना सहभागी भएकोमा करिब २६ प्रतिशत अर्थात ६ जना विद्यार्थी उर्तीण भएका छन् भने त्यसपछि रानिखोला मावि सिमलढापबाट २८ जना विद्यार्थी सहभागी भएकोमा करिब २१.४२ अर्थात ६ जना विद्यार्थी उर्तीण भएका छन् ।
गाउँपालिकाले पछिल्लो समय नमूना विद्यालयको रुपमा विकास गर्न खोजेको सर्वशान्ति मावि कुरिनटारबाट १ सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा करिब १८ प्रतिशत अर्थात जम्मा २२ जना उर्तीण भएका छन् भने गाउँपालिकाको एकमात्र प्राविधिक धारको पढाई हुने त्रिवेणी बराह मुग्लिङबाट ५२ जना विद्यार्थी सहभागी भएकोमा करिब ३.८४ प्रतिशत अर्थात जम्मा २ जना विद्यार्थी उर्तीण भएका छन् ।
बाँकी गर्दाश मावि गर्दाशबाट ४६ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा २ जना मात्रै उर्तीण भएका छन् । 