भरतपुर । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन जेठ १२ गतेदेखि १४ गतेसम्म हुने भएको छ । भरतपुर–४, लङ्कूस्थित होटल ग्यालेक्सीमा हुने अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । एमाले चितवनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी दिएको हो ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, सचिव प्रकाश खनाल ‘शैलेस’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन समिति बनाइएको छ ।
त्यस्तै, उपसचिव प्रकाश ढुङ्गानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागतसत्कार उपसमिति र भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको पार्टीले जनाएको छ ।
अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले चितवनका अध्यक्ष न्यौपानेले जानकारी दिए । हरेक तीन वर्षमा हुनुपर्ने अधिवेशन यसपटक दुई वर्ष चार महिनामै हुन लागेको हो ।
अधिवेशनका लागि जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्चलगायतबाट गरी ७३२ जना र मनोनीत २९ गरी जम्मा ७६१ जना प्रतिनिधि चयन भएका छन् । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुईसहित १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छ । जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको न्यौपानेले बताए ।
‘जिल्ला कमिटीको चयन लोकतान्त्रिक विधिबाट सौहार्दपूर्णरुपमा सम्पन्न हुने छ’, उनले भने । अधिवेशनकै अवसरमा जेठ १४ गते अनेरास्ववियु चितवन र राष्ट्रिय युवासंघ नेपाल भरतपुर महानगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेकपा एमाले चितवनको आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष न्यौपानेले आकाङ्क्षा देखाएका छन् । तीनवर्षे कार्यकाल पूरा काम गर्न नपाउँदै अधिवेशन हुन लागेकाले पनि उनी पुनः अध्यक्षमा उठ्न चाहेका छन् । पत्रकार सम्मेलनमा आफ्नो उमेदवारीबारे नखुलाए पनि पुनः अध्यक्षका लागि उनले लबिङ गरिरहेको नेताहरु बताउँछन् ।
त्यस्तै, उपाध्यक्ष पाठकले पनि अध्यक्षका लागि उमेदवारी दिने मनस्थिति बनाएका छन् । निर्वाचनमै जान परे पनि उनले त्यसको तयारी गरेका छन् । नियमित प्रक्रियाबाट पनि अध्यक्ष बन्ने अब आफ्नै पालो भएको उनी बताउँछन् । उनीबाहेक कृष्णप्रसाद भूर्तेल र तेजेन्द्र खड्काको नाम पनि चर्चामा रहेको छ ।