Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड ११ लाख सहयोग

तनहुँको जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड ११ लाख सहयोग

रासस

५, जेठ २०८१
तनहुँको जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड ११ लाख सहयोग
images

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।

images
images

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।

तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले राससलाई जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, ‘यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।’

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेसनलगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । दमौली अस्पतालमा सात वटा उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिइएको छ । यसअघि चारवटा उपकरणमात्रै सञ्चालन रहेकामा तीन वटा नयाँ उपकरण थप गरिएको छ । केन्द्रमा तीन वटा नयाँ उपकरण आएपछि पालो पर्खिएर बसेका २१ जनालाई समेत डायलासिस सेवा दिन थालिएको केन्द्रका इञ्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।

उनले भने, ‘उपकरण थप नहुँदा सेवा दिन सक्ने अवस्था थिएन, तीन वटा नयाँ उपकरण आएपछि पालो कुरेका सबैलाई सेवा दिइएको छ । हाल केन्द्रबाट ५५ जनाले डायलासिस सेवा लिइरहनुभएको छ ।’ पण्डितका अनुसार ४९ जनाले हप्ताको दुई पटक, पाँच जनाले हप्ताको तीन पटक र एक जनाले हप्ताको एक पटक डायलासिस सेवा लिइरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट विसं २०८० कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए ।

images
प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - ०८:०७:१३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology