गोरखा । बालिका बलात्कार गरेको र बलात्कार गर्ने प्रयास गरेको छुट्टाछुट्टै आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १२ बर्षका बालक पक्राउ परेका छन् । पाँच बर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका वडा नं. १२ नौकिलोका १२ बर्षका बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले गत बिहिबार दिउसो पौने चार बजे बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ । उनीमाथि जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट अनुमति लिई निगरानी कक्षमा राखी अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै १३ बर्षकी बालिकामाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले गोरखाका एकजनालाई पक्राउ गरेको छ । गत शनिबार राती ११ बजे एक बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका १० वीरेन्चोकका २२ बर्षका मदन थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाकी आमाको जाहेरी दरखास्तको आधारमा आइतबार थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सोमबार जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।