Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो, मलाई चिन्ता यसैमा छ : रेशम चौधरी

लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो, मलाई चिन्ता यसैमा छ : रेशम चौधरी

इच्छाकामना न्युज

३०, फाल्गुण २०८०
लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो, मलाई चिन्ता यसैमा छ : रेशम चौधरी
images

काठमाडौं । एमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे। यसले पनि नागरिक उन्मुक्तिभित्र चर्को मतभेद रहेको पुष्टि हुन्छ।

images
images

यसैबीच पार्टीका जन्मदाता रेशम चौधरीले लामो स्टाट्स लेखेर श्रीमतीलाई सम्झाउन नसकेको उल्लेख गरेका छन्। श्रीमतीलाई सम्झाउनकै लागि आफू काठमाडौंसम्म आएको उनले भनेका छन्।

'म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ। उनी टस कि मस भइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे। हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुईपटक प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौं नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं। तिमी पनि मन्त्री भएकी हौ,' रेशमले भनेका छन्। उनले  नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट केही नहुने उल्लेख गरेका छन्। 

उनले आफूले जन्माएको बच्चा (पार्टी)को घाँटी निमोठेर हत्या गर्रन नसकिने बताएका छन्। त्यसैले कसैलाई भोट नहाल्न पनि उनी श्रीमतीलाई आग्रह गरेका छन्। 'मैले तिमीलाई सम्झाउन सकिन प्रिय। आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन्, ती हामीलाई हृदयदेखि चाहने वाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ,' उनले भनेका छन्।

रेशमले लेखेको स्टाट्स 

विषय जित हारको होइन,
आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्।
सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौं, आफ्नो पार्टी निर्माणमा जुटौं।

सन्दर्भ: घर झगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो।
आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस। यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपाजस्ता साना दलमा कत्रो भुँइचालो गएको छ?

त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरुप चलौं।

कुरो रह्यो बुढाबुढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ। उनी टस कि मस भइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटि प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौं नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकी हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं। जताबाट पनि भलो ठूलै दलको हुने हो। हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो। 

मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ। 

हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन। अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधानभन्दा माथी हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।

तर, याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ। सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ।

मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु। तर, पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन। म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो। 

 
 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०९:१९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology