गजुरी, २१ असोज । धादिङको गजुरी गाउँपालिका ६ आदमघाटबाट अवैध लागुऔषध चरेश सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उक्त ईलाकामा अवैध लागु औषधको कारोबार हुने गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चरेश सहित मंगलबार एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ खनियाबाँस गाउँपालिका २ तर्चि घर भएका ३७ वर्षिय रेशम बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए। प्रहरीले प्रतिवादी तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेश, १ थान मोबाईल र नगद ८ हजार समेत बरामद गरेको छ। आरोपितलाई जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।