Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इलाम २ उपनिर्वाचन : नयाँ गठबन्धनको साझा उम्मेदवार बन्न झलनाथको कसरत, नेम्वाङलाई न्याय ?

इलाम २ उपनिर्वाचन : नयाँ गठबन्धनको साझा उम्मेदवार बन्न झलनाथको कसरत, नेम्वाङलाई न्याय ?

इच्छाकामना न्युज

२३, फाल्गुण २०८०
इलाम २ उपनिर्वाचन : नयाँ गठबन्धनको साझा उम्मेदवार बन्न झलनाथको कसरत, नेम्वाङलाई न्याय ?
images

इलाम । इलाम २ को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इच्छा देखाएका छन् । उनले नयाँ गठबन्धनको साझा उम्मेदवार बन्न कसरत थालेका हुन् । 

images
images

२०७९ को निर्वाचनमा झलनाथ इलाम १ बाट चुनाव हारेका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । महेशले २५ हजार ७५३ मत ल्याउँदा झलनाथले २३ हजार ८९ मत पाएका थिए । 

जबकि त्यतिबेला झलनाथलाई तत्कालीन सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको साथ रहेको थियो । 

चुनाव नै हारेको भए पनि उनले त्यतिबेला राष्ट्रपतिका लागिसमेत पहल गरेका थिए । तर राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकोसमेत चर्चा चलिरहँदा झलनाथ छायाँमा परेका थिए । 

झलनाथ शुरुआती चरणदेखि नै एमालेसँग नजिक रहेका थिए र पनि भिडन्त एमालेसँगै गर्नुपरेको थियो । 

अहिले गठबन्धनमा नयाँ परिवर्तन भएर एमालेसँग जोडिन पाउँदा उनी उत्साही छन् । यही उत्साहमा पाएमा इलाम २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेर सांसद बन्ने आकांक्षा पालेका छन् । 

इलाम २ मा एमालेबाट संविधान सभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । 

नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । तत्कालीन गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । 

नेम्वाङको गत भदौमा निधन भएपछि आगामी बैशाखमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । 

यो क्षेत्रमा अहिले सबैभन्दा बढी चुनाव कसैलाई लागेको छ भने त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई । रास्वपाले इलाम २ मा पर्ने हरेक पालिकाको सूक्ष्य अध्ययन गर्नका लागि नेताहरुलाई खटाइसकेको छ । सोका आधारमा प्रतिवेदन तयार गरी कसलाई चुनावमा उठाउने भनेर तयारी गर्दैछ । 

यद्यपि यो नयाँ गठबन्धन हुनुभन्दा अगाडिको निर्णय भएकाले अब के हुन्छ भन्ने यकिन छैन । सत्ता गठबन्धन नै भइसकेपछि पक्कै इलाम २ पनि गठबन्धनका रुपमा नै जान सक्ने देखिन्छ । 

त्यसो त त्यो क्षेत्रमा रास्वपाको खासै उत्साह देखिँदैन । २०७९ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेका प्रकाश सापकोटाले १ हजार ३८० मतमात्र ल्याएका थिए । त्यसैले पनि यसलाई गठबन्धन भइसकेपछि छाड्न पनि सजिलो हुनेतर्फ स्थानीय रास्वपाका नेताहरु गइसकेको बुझ्न सकिन्छ । 

एमालेले झलनाथलाई टिकट दिएर सुवास नेम्वाङले न्याय पाउँछन् ? 
सुवास नेम्वाङलाई एमालेभित्रका सबैभन्दा इमानदार नेताको रुपमा विश्लेषण गरिँदै आएको छ । उनको बौद्धिकता र तर्कका सामु अन्य नेताहरु फिका हुन्थे । 

वरिष्ठ अधिवक्तासमेत भएकाले उनले संविधान सभा अध्यक्षको भूमिका पदीय गरिमालाई जोगाएरै खेलेका थिए । उनको भूमिकामा विपक्षी दलका नेताहरुलेसमेत प्रश्न गर्ने ठाउँ नेम्वाङले दिएनन् । 

नेम्वाङलाई राष्ट्रपति बनाउनु पर्छ भनेर एमालेले प्रयास गरेको भए पनि सफल भएन । यदि तत्कालीन गठबन्धनमा किचलो नआएको भए नेम्वाङ राष्ट्रपति बन्न सक्ने प्रवल सम्भावना थियो । 

तर पदीय बाँडफाँटका कारण उनलाई शुरुआतदेखि भने एमालेले राष्ट्रपतिका लागि लबिङ गर्न सकिरहेको थिएन । 

अहिले स्वर्गीय नेम्वाङका कानछा छोरा सुहाङ नेम्वाङले आफ्नो बाबुका सपना पूरा गर्न आफू लागिपर्ने बताउँदै आएका छन् । उनले गत असोजमै इलाम पुगेर उक्त घोषणा गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेलै आश्वासन दिएको बताइन्छ । अधिवक्तासमेत रहेका सुहाङले बाबुको पथ पछ्याउँदै नै ल फर्म चलाएर बसेका छन् । र, बाबुको अप्रत्याशित निधनपछि मर्माहित उनले अब झन् ठूलो जिम्मेवारी आइपुगेको बताएका थिए । 

उनले आफ्ना बाबु इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ इलामेलीको मस्तिस्कमा रहिरहने बताएर त्यो शोकको बेलामा इलामेली जनताका आँखामा आँशु देखेर आफूले बाबुको मार्ग पछ्याउने बताएका थिए । 

यसरी सुहाङले त्यतिबेलै त्यहाँका मतदाताको मन जितेको स्थानीय एमालेका नेताहरुले बताउँदै आएका छन् । 

जसका कारण अन्य एमालेका नेताहरु धेरै नै आकांक्षी भए पनि मुख फोडेर सुहाङले हैन आफूले टिकट पाउनु पर्छ भन्न सकेको अवस्था छैन । 

एमालेबाट बुद्धि खनाल, उदय राई, गणेश बराल, रवीन्द्र सुवेदीलगायतका नेताहरू पनि आकांक्षी छन् । 

प्रायः अचानक कुनै सांसदको निधन हुँदासाथ राजनीतिमा भएको भए उनकै परिवारका कसैले त्यो सहानुभूति पाउँछन् । यो अर्थमा सुहाङ नयाँ गठबन्धनका निर्विवाद उम्मेदवार हुन् । 

तर के यस्तो अवस्थामा पनि गत निर्वाचनमा पराजित भएका झलनाथले अर्काको निर्वाचन क्षेत्रमा गएर चुनाव लड्नका लागि मरिहत्ते गर्ने आँट गर्लान् त ? प्रश्न यहीँनेर आएर अड्किन्छ । 

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - ०८:२२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology