Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति हो : प्रधानमन्त्री प्रचण्ड

लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति हो : प्रधानमन्त्री प्रचण्ड

इच्छाकामना न्युज

५, फाल्गुण २०८०
लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति हो : प्रधानमन्त्री प्रचण्ड
images

चरौदीं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ ।  धादिङको बेनिघाट स्थित चरौँदीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताउनुभयो ।

images
images

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिनुभयो ।

हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।”

लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिनुभयो । सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै प्रधानमन्त्री प्रचण्डले लोक सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभयो । ।विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘दर्शक स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।’

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’ को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भन्नुभयो ।

सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गर्नुभएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८० शनिवार - २२:३२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology