आँबुखैरेनी, १९ माघ । नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडावडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न थालेको छ। जसअनुसार आज सोमबार मात्रै आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ मा नयाँ आधारभुत स्वास्थ्य केन्द्रको भवन सञ्चालनमा ल्याएको छ।
वडा नं. १ को वडा स्तरमा नै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याईएको स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले समुद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले हरेक वडामा कम्तीमा पनि एउटा स्वास्थ्य केन्द्र स्थापना गर्न आफुहरु लागिपरेको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो।

नवनिर्मित भवनमा गाउँपालिकाले ५२ लाख ८४ हजार ४ सय ६५ रुपैयाँ २८ पैसा खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार खडा देवी निर्माण सेवा भक्तपुरले १ वर्ष भित्रमा उक्त भवन निर्माण गरेको हो।
आजैदेखि सेवा सुरु भएको केन्द्रमा तत्काल १ जना एच. ए., २ जना एन.एम र १ जना कार्यालय सहयोगी मार्फत सेवा प्रदान हुनुका साथै ३५ भन्दा बढि प्रकारका औषधीहरु पनि निःशुल्क उपलब्ध हुने प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो।
यस्तै गाउँपालिकाले शुक्रबार मात्रै वडा नं. २ को तिलवारीमा पनि आधारभुत स्वास्थ्य केन्द्र भवन समुद्घाटन गरि सञ्चालनमा ल्याएको छ भने वडा नं. ४ को भाँगेमा पनि केन्द्र सञ्चालनको लागि भवन निर्माणको प्रक्रिया सुरु गरेको छ।