Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैंकमा थुप्रियो पैसा

बैंकमा थुप्रियो पैसा

पत्रपत्रिका

२१, पौष २०८०
बैंकमा थुप्रियो पैसा
images

काठमाण्डौ । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो।

images
images

पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा थुप्रिएको छ। बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानीयोग्य पुँजी पर्याप्त देखिएको हो। यसैकारण केन्द्रीय बैंकले पुस महिना सुरु भएयता निक्षेप संकलन उपकरणबाट १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको (प्रशोचन गरेको) छ।

यो पुसको १९ दिनभित्र ९ पटक बोलकबोलमार्फत रकम तानेको हो। जस्मा केन्द्रीय बैंकले पुस १९ गते मात्रै २१ दिने निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ, पुस १८ गते दुईहप्ते निक्षेप संकलनमार्फत २५ अर्ब रुपैयाँ तान्यो। यता राष्ट्र बैंकले निक्षेप संकलन गरेर अन्तरबैंक ब्याजदरलाई सीमाभित्र राख्न प्रयास गरिरहेको बताएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार ब्याजदर करिडोरको अवधारणाअन्तर्गत अन्तरबैंक ब्याजदरको सीमा ३ प्रतिशतभन्दा तल जान नदिने भनेर तोकेको थियो। तर, लामो समयदेखि एउटा बैंकले अर्को बैंकसँग कर्जा लिने अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदै आयो।

यसैले केन्द्रीय बैंक यसमा बढी सतर्क हुन खोजेको छ। ‘अन्तरबैंक ब्याजदर सीमाभन्दा तल गएकाले निक्षेप संकलनको बोलकबोलमार्फत बैंकिङ प्रणालीबाट पैसा तानेको हो। यसैले पुस १८ र १९ गते अन्तरबैंक ब्याजदर ३ प्रतिशत माथि आएको छ,’ प्रवक्ता डा. भट्टले भने, ‘बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएर तानिएको हो। बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर) ४ प्रतिशतबाहेकको अधिक तरलताको रकम करिब एक खर्ब रुपैयाँ छ।’

यतिबेला तरलता बढिरहनुको कारण गत वर्षको तुलनामा आयात पनि घटेको छ। अन्य क्षेत्रमा पनि कर्जाको माग त्यति नहुँदा यस्तो अवस्था आएको डा. भट्टको ठहर छ। अहिले समग्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग ४ खर्ब ३३ अर्ब हाराहारी रुपैयाँ कर्जा प्रवाह गर्ने क्षमता छ। यो पुस १८ गतेसम्म बैंकहरूसँग भएको क्षमता हो। यतिबेला (पुस १८ गतेसम्म) बैंकहरूको लगानीयोग्य क्षमता (तरलता) खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा सीमित छ। नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन्। यो भनेको बैंकले एक सय रुपैयाँको निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउनु हो। तर, यस अनुसार अहिले बैंकहरूसँग पर्याप्त क्षमता अर्थात् १० प्रतिशतको कुशन छ। यसरी अधिक रकम भएकै कारण एक बैंकले अर्को बैंकसँग लिने अन्तरबैंकको ब्याजदर पनि ३ प्रतिशतबाट झरेर न्यून भएको हो। जबकि कुनैबेला तरलता कम हुँदा (गत आवको माघ फागुन, चैत्र, वैशाखतिर) अन्तरबैंक ब्याजदर ७–८ प्रतिशतसम्म पुगेको थियो।

यता बैंकिङ प्रणालीमा निक्षेप संकलन पनि बढ्दो छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकको मात्रै ५३ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको छ। यसबाहेक विकास र वित्त कम्पनीहरूले ६ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वार्षिक करिब ५ खर्ब रुपैयाँ हाराहारीमा निक्षेप वृद्धि भइरहेको छ। तर, जसरी निक्षेप बढेको छ कर्जा प्रवाह गर्ने क्षमता हुँदा पनि थप ऋण बढेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०८:४१:४५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology