भरतपुर । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सत्तासीन दलहरुबाटै देशलाई खतरा भएको बताएका छन् । मानवअधिकार तथा शान्ति समाज चितवनले आयोजना गरेको ‘लोकतन्त्रको प्राण ; सुशासन र सद्भाव’ विषयक नागरिक संवादका क्रममा उनले भने, ‘देशलाई पूर्वराजाबाट भन्दा पनि वर्तमान सरकारबाटै खतरा छ !’
वर्तमान सरकारले देशमा भ्रष्टाचारका जुम्रा पालेर बसेको हुँदा आजभन्दा भोलि, भोलिभन्दा पर्सि देश खतरामा पर्दै गएको उनले आरोप लगाए । जम्मा ३२ सिट ल्याएर नेपाली कांग्रेसको काँध चढेर सरकारमा गएका प्रचण्डले कांग्रेसकै आडमा जनयुद्ध दिवस मनाएको भन्दै मानवअधिकारको गम्भीर उल्लङ्घन भएको विषयलाई कुनै पनि कोणबाट दिवसको रुपमा स्वीकार्न नसकिने उनले बताए । जम्मा ३२ सिटले देशकै पहिलो दलको काँधमा चढेर जनयुद्ध दिवस जिन्दावाद भनेको कुरा संसारका कसैले पनि मान्न नसकिने उनको भनाइ छ ।
‘हजारौँको ज्यान मार्ने गरी भएको मानवताविरोधी जनयुद्ध हामीले मानेका होइनौँ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर नै गरेर हस्ताक्षरकर्ताहरुले स्वीकारेका छन्’, उनले भने, ‘जुन युद्धबाट मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ, मानवताविरूद्धको अपराध भएको छ त्यसलाई राष्ट्रिय दिवस कसरी मान्न सकिन्छ ?’ आन्दोलनका नाममा दुई हजार ९७३ जना बालसैन्यको प्रयोग भएको विषय नै पुष्टि भइसकेको भन्दै उनले थपे, ‘अन्तर्राष्ट्रिय कानुनअनुसार माओवादीले गरेको गतिविधि युद्ध अपराध हो, यो कुरा बुझ्नुपर्छ माओवादीले ।’
यो विषयबाट वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भागेर हिँडेको समेत उनले आरोप लगाए । ‘किनकि माओवादीले गरेको मानवअधिकारको उल्लङ्घन संयुक्त राष्ट्रसंघले स्वीकार्दैन । संसारका कुनै पनि मानवअधिकार संघसंस्थाले मान्दैन’, संस्थापक सभापति पहाडीले भने । यिनै कारण माओवादीले मान्दै आएको फागुन १ गतेको जनयुद्ध दिवस र त्यसको नाममा दिने सार्वजनिक बिदा दिएर सरकारले आपत्तिजनक निर्णय गरेको उनले बताए ।
‘त्यसैले लोकतन्त्रकै अवमूल्यन हुने गरी जारी गरिएको जनयुद्ध दिवस तत्काल खारेज हुनुपर्छ’, उनले भने ।
मानवअधिकारवादी संघसंस्था तथा नागरिक आन्दोलन सधैँ हिंसाको विरूद्धमा रहने बताउँदै पछिल्लो समय राजा फर्काउने अभियानको नारा बोकेर सडकमा निस्कनेहरुले लोकतन्त्रको हत्या गर्न खोजेको हुँदा त्यसतर्फ नागरिक अगुवाहरु सचेत हुनुपर्ने उनले बताए ।
अब पनि नेपाली नागरिक सचेत नभए विभिन्न बहानामा आन्दोलन गर्दै आएका जडसूत्रवादीहरुबाट तालिवानी जन्मिने खतरा बढ्दै जाने उनले बताए । ‘त्यसैले यस्तो बेला हामी कोही पनि मौन बस्न हुँदैन’, उनले भने, ‘यस्तो जडसूत्रवादीविरूद्ध आवाज उठाउनका लागि दलहरुबाट पनि सम्भावना छैन, त्यसैले जनस्तरबाटै प्रयास हुनु आवश्यक छ ।’
जडसूत्रवादीहरुले स्वतन्त्रतालाई नस्वीकार्ने हुँदा जातीय औजार प्रयोग गरेर लोकतन्त्रलाई जोखिममा पार्ने प्रयास भइरहेको उनले बताए । ‘यही बहानामा पुरानो जातीय एजेन्डा बौरिन थालेको छ’, उनले भने । तर, न्यायालयसम्म राजनीतिक दलको प्रवेश भइसकेको हुँदा यस्ता विषयमा बोल्न सक्ने इमानदार नेता कोही पनि नभएको उनले बताए । सत्ताबाहिर रहँदा सत्तासीनलाई आरोप लगाउनेबाहेक दलहरुको भूमिका नरहेको उनले बताए । ‘दलहरुको गैरजिम्मेवारीपनका कारण नागरिकमा चरम निराशा छ’, उनले भने, ‘त्यसैको प्रतिफल गत मङ्सिर ४ ले देखाइसकेको छ । त्यसैले जुनसुकै दल भए पनि मानवअधिकारका मूल्यमान्यताप्रति प्रतिबद्ध हुनुपर्छ ।’
भरतपुर–९, शरदपुरका डिल्लीप्रसाद सापकोटाले भने कुनै पनि सरकारी कार्यालयलाई भ्रष्टाचाररहित कार्यालय नबनाएसम्म सुशासन कायम हुन नसक्ने जिकिर गरे । कुनै पनि सरकारी कर्मचारीले भ्रष्टाचारबिना काम नै नगर्ने बताउँदै उनले भने, ‘नेता नै भ्रष्टाचारी भएपछि तिनै नेताको पहुँचमा जागिर खानेहरुले पनि त्यही बाटो रोज्दा रहेछन् ।’
पूर्वसांसद् एवम् भ्रष्टाचारविरूद्धको अभियानका संयोजक भीमबहादुर श्रेष्ठले नेपालमा हालसम्म इमानदार नेता नजन्मिएको बताए । जसको परिणाम देश नै भ्रष्टाचारको दलदलमा फस्दै गएको उनले बताए । ‘दल र नेता सुधार्न जनदबाबको विकल्प छैन’, उनले भने, ‘होइन भने देश झन् खराब त¤वको हातमा पर्न सक्ने सम्भावना छ ।’
नागरिक संवादका क्रममा चितवन जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले पनि देशमा भ्रष्टाचारको अन्त्य हुन नसकेको स्वीकार गरेका छन् । भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दल तथा नागरिकस्तरबाटै पहल हुनुपर्ने उनीहरुले बताएका छन् ।