बुना घिमिरे, दोलखा, १७ माघ । कोरोना महामारी पछि विदेशबाट फर्किएका युवाहरुलाई आफ्नै ठाउँमा रोजगारी दिने उदेश्य सहित दोलखाका स्थानीय तहले योजना बनाएका छन् । विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरी उनिहरुको सीप, क्षमता र योग्यताको आधारमा स्वरोजगार बनाउने स्थानीय तहको योजना छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरी तिनेखुका भगवान खड्का रोजगारीको सिलसिलामा साउदी अबरमा हुनुहुन्थ्यो । कोरोना महामारी पछि गाउँ फर्कनु भएका उहाँले व्यवसायिक रुपमा बाख्रा पाल्न थाल्नुभएको छ । गाँउपालिकाको सहयोगमा करुणा बहुदेश्यीय कृर्षी फार्म मार्फत बाख्रा पाल्न थालेको खड्काले बताउनुभयो ।
स्थानीय तहले पनि कोरोना महामारीपछि विदेशबाट फर्किएकाहरुलाई रोजगारीको पहिलो प्राथमिकतामा राखेका छन् । बैतेश्वर गाउँपालिकाले युवालाई लक्षित गरी कृषिका विभिन्न कार्यक्रम ल्याएको बताउनुहुन्छ, उपप्रमुख रवि चन्द्र आर्चाय । स्थानीय सरकारले युवाहरुलाई आर्थिक सहयोग सँगै विभिन्न सीपमूलक तालिम पनि दिईरहेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताउनुभएको छ । पालिकाहरुले बेरोजगारको नाम सुचिकृत गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत एक सय दिन बराबरको कार्यक्रम सञ्चालन गरी रहेका छन् ।
कोरोना महामारी पछि भने विदेशबाट घर फर्किएका युवालाई लक्षित गरी थप स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गरेको गौरीशंकर गाउँपालिका प्रमुख स्वयम बहादुर खड्काको भनाई छ । कोरोना महामारी पछि रोजगारी गुमाएर फर्किएका युवालाइ सकेसम्म बेरोजगार हुन नदिने गरी कार्यक्रम तयार पारिएको स्थानीय सरकारहरुले बताएका छन् ।