नुवाकोट, १७ माघ । नुवाकोटको पुर्वी भेगमा रहेको दुप्चेश्वर गाउँपालिकाले घुम्ती कानुनी क्लिनिकको सुरुवात गरेको छ । सर्वसाधारणको सुविधाका लागि सबै वडाहरूमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सुरु गरिएको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
राष्ट्र निर्माण मञ्च नेपालसँगको सहकार्यमा गाउँपालिकाका प्रत्येक वडामा एकएक दिने सामुदायिक घुम्ती कानुनी क्लिनिक कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । वडा नम्बर ७ शिखरबेशीबाट सुरु गरिएको क्लिनिकमा गाउँपालिका अन्तर्गतका कानुनी पक्षहरुका बारेमा नागरिकलाई जानकारी दिइएको छ । अन्तरक्रियात्मक ढङ्गले सञ्चालन हुने क्लिनिकमा बालविवाह अन्त्य, आर्थिक मामिला, पुनर्निर्माणजस्ता विषयहरुसँग सम्बन्धित ऐन, नियम तथा कानुनी पक्षहरु साथै स्वास्थ्य शाखाबाट विपन्न नागरिक उपचार सिफारिसको लागि पूरा गर्नुपर्ने प्रक्रिया जस्ता विषयमा छलफल भएको अध्यक्ष योविन्द्रसिह तामाङको भनाइ छ ।
महिला सम्बन्धी कानुनी परामर्शलाई पनि प्राथमिकतामा राखेको र बालविवाह गरे गराएमा हुने कानुनी कारवाहीको बिषयमा पनि अन्तरक्रिया भएको उपाध्यक्ष अन्जु आचार्यले जानकारी दिनुभयो ।