बाँसपुर । चितवन र धादिङ जिल्लाको सिमानामा पर्छ बाँसपुर गाउँ । धादिङतर्फ बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १० र चितवनतर्फ इच्छाकामना गाउँपालिकाको वडा नं. २ । यहाँका स्थानीयले केही वर्षअघिसम्म परम्परागत खेतीसँगै व्यावसायिक तरकारीखेती गर्दै आएका थिए । तर, अहिले उनीहरु नयाँ खेतीतर्फ आकर्षित भएका छन् । नेपालमा आगन्तुक खेतीको रुपमा भित्रिएको किवीले गाउँमा फरक खालको आभास दिलाएको छ ।
स्थानीय धनबहादुर गुरूङले साथीमार्फत रसुवाबाट किवीको बिरूवा लगाएपछि बाँसपुरमा व्यावसायिक किवीखेतीले प्रवेश पायो । उनकै पहलमा दुई परिवारले करिब ३० कठ्ठा क्षेत्रफलमा किवीखेती गरेका छन् । त्यसमध्ये धनबहादुरको मात्रै करिब २८ कठ्ठा क्षेत्रफलमा किवीखेती छ । तरकारीखेतीबाट पनि राम्रै आम्दानी गर्दै आएका धनबहादुरले तीन वर्षदेखि यही किवीलाई आफ्नो व्यावसायिक खेतीको रुपमा अँगाल्न थालेका छन् ।
सुरूमा ४५० वटा बिरूवा ल्याएर लगाउँदा केही बिरूवा म¥यो । ‘आफूले पनि थाहा नपाएको खेतीमा लाग्दा अनुभव हुने कुरै भएन । त्यसैले केही बिरूवालाई बचाउन सकिएन,’ उनले भने, ‘तर, करिब ३०० भन्दा बढी बिरूवाले फल दिएको होला ।’ यतिखेर किवीको उत्पादन निख्रिन लागेको छ । साउनदेखि फल्न सुरू गर्ने किवी असोज लागेदेखि बिक्री गर्दा हालसम्म करिब दुई क्वीन्टलको हाराहारीमा बिक्री भएको उनले अनुमान लगाए । यो गाउँमा पहिलेपहिले सुन्तलाको पनि राम्रो उत्पादन हुन्थ्यो ।
तर, अहिले ती बिरूवा बूढा भए । बिस्तारै मासिँदै गए । त्यसैले पनि धनबहादुरले नयाँ खेतीको योजना बनाए । ‘रसुवामा यस्तै हावापानीमा मज्जासँग किवी फलेको देखेँ,’ उनले भने, ‘त्यसैले चितवनमा पनि फल्छ कि भनेर बिरूवा ल्याएर लगाएँ । अहिले फल दिइरहेको छ ।’ सुन्तलाले दिएको प्रतिफललाई आधार मान्दा किवीले पनि राम्रै आम्दानी दिनेमा उनी आशावादी छन् ।
‘किवीखेतीको विषयमा हामीलाई अनुभव नै छैन । तर, वर्षमा एक पटकमात्रै फल्ने किवीबाट पनि मूल्य पाएमा राम्रै हुन्छ भन्ने सोचेको छु,’ उनले भने । तरकारीखेतीमा सिंचाइको सुविधा नभएकोले जुनसुकै मौसममा उत्पादन गर्न नसकिने हुँदा वैकल्पिक खेतीपातीमा लागेको उनको भनाइ छ ।
उनले जानकारी पाएअनुसार नयाँ बिरूवा लगाएपछि करिब सात वर्षपछि मात्रै पूर्णरुपमा उत्पादन दिन थाल्छ । ‘हाम्रोमा तीन वर्षमै उत्पादन दिन थालेको छ । झाङ सानो भएकोले उत्पादन पनि कम छ । तर, बिस्तारै झाङ फैलिँदै जाँदा उत्पादन पनि बढ्छ होला,’ उनले भने । एकपटक लगाएको बिरूवाले कम्तीमा पनि ४० देखि ५० वर्षसम्म निरन्तर उत्पादन दिने उनले बताए ।
धनबहादुरले ल्याएको बिरूवामध्ये ७० वटा बिरूवा उनका भाइ (काकाको छोरा) अमरबहादुर गुरूङले लगाएका छन् । किवीखेतीको विषयमा जानकारी नै नभएको हुँदा उनलाई पनि अनुभव हुने कुरै भएन । तैपनि अनुमानकै भरमा लगाएको बिरूवाले पनि उत्पादन राम्रो दिन थालेको उनले बताए । ‘नयाँ फल भएकोले पहिलो चरणमा फलेको सबै गाउँलेलाई चखाइयो । अहिले दोस्रो चरणको फल बिक्री गरिरहेको छु । यो पनि अब सकिन लाग्यो ।’
यसअघि बन्दा, काउली, केराउलगायतका तरकारीखेतीभन्दा किवी अलि सजिलो खेती भएको उनले बताए । ‘किवीको विषयमा अनुभव नै नभए पनि तरकारीखेतीमा जस्तो मलजल र परिश्रम धेरै लाग्दो रहेनछ,’ उनले भने । हावापानीको हिसाबले पनि यो ठाउँ किवीखेतीको लागि उपयुक्त भूगोल भएको उनले अनुमान लगाए ।
अहिले सुरूवाती चरणमा भएकोले उत्पादनलाई जसोतसो बारीबाटै खपत गर्न सके पनि उत्पादन बढ्दै जाँदा बजार नपाउने हो कि भन्ने चिन्ता भने थपिएको छ । ग्रामीण क्षेत्रमा अझै पनि किवीखेतीबारे जानकार भइनसकेको हुँदा अहिले पनि बाहिरबाट आउनेहरुले किवी किन्ने गरेका छन् । ‘बजारमा चिनियाँ किवीको प्रभाव रहेछ,’ उनले भने, ‘त्यसैले भोलिका दिनमा उत्पादन बढ्दै गयो भने बजार नै लैजानु पर्ने र चिनियाँ किवीसँग प्रतिस्पर्धा गर्न नसकिने हो कि भन्ने चिन्ता छ ।’
अहिले भने बारीबाटै ३५० देखि ४०० रूपैयाँ किलोको दरमा बिक्री भइरहेको छ । ‘बाटोमा हिँड्ने पनि कतिपयले यो फल नै चिन्दैनन् । चिन्ने जतिले लैजान्छन्,’ उनले भने, ‘त्यसैले गाउँका मान्छेले मात्रै होइन, बजारका मान्छेको लागि पनि यो फल नयाँ नै रहेछ ।’ चितवनपोष्टबाट