Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा नै फल्ने भयो किवी : सुन्तला खेती त्यागेर किवि खेतीमा इच्छाकामना बाँसपुरका किसान

चितवनमा नै फल्ने भयो किवी : सुन्तला खेती त्यागेर किवि खेतीमा इच्छाकामना बाँसपुरका किसान

इच्छाकामना न्युज

२६, कार्तिक २०८०
चितवनमा नै फल्ने भयो किवी : सुन्तला खेती त्यागेर किवि खेतीमा इच्छाकामना बाँसपुरका किसान
images

बाँसपुर । चितवन र धादिङ जिल्लाको सिमानामा पर्छ बाँसपुर गाउँ । धादिङतर्फ बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १० र चितवनतर्फ इच्छाकामना गाउँपालिकाको वडा नं. २ । यहाँका स्थानीयले केही वर्षअघिसम्म परम्परागत खेतीसँगै व्यावसायिक तरकारीखेती गर्दै आएका थिए । तर, अहिले उनीहरु नयाँ खेतीतर्फ आकर्षित भएका छन् । नेपालमा आगन्तुक खेतीको रुपमा भित्रिएको किवीले गाउँमा फरक खालको आभास दिलाएको छ ।

images
images

स्थानीय धनबहादुर गुरूङले साथीमार्फत रसुवाबाट किवीको बिरूवा लगाएपछि बाँसपुरमा व्यावसायिक किवीखेतीले प्रवेश पायो । उनकै पहलमा दुई परिवारले करिब ३० कठ्ठा क्षेत्रफलमा किवीखेती गरेका छन् । त्यसमध्ये धनबहादुरको मात्रै करिब २८ कठ्ठा क्षेत्रफलमा किवीखेती छ । तरकारीखेतीबाट पनि राम्रै आम्दानी गर्दै आएका धनबहादुरले तीन वर्षदेखि यही किवीलाई आफ्नो व्यावसायिक खेतीको रुपमा अँगाल्न थालेका छन् ।

सुरूमा ४५० वटा बिरूवा ल्याएर लगाउँदा केही बिरूवा म¥यो । ‘आफूले पनि थाहा नपाएको खेतीमा लाग्दा अनुभव हुने कुरै भएन । त्यसैले केही बिरूवालाई बचाउन सकिएन,’ उनले भने, ‘तर, करिब ३०० भन्दा बढी बिरूवाले फल दिएको होला ।’ यतिखेर किवीको उत्पादन निख्रिन लागेको छ । साउनदेखि फल्न सुरू गर्ने किवी असोज लागेदेखि बिक्री गर्दा हालसम्म करिब दुई क्वीन्टलको हाराहारीमा बिक्री भएको उनले अनुमान लगाए । यो गाउँमा पहिलेपहिले सुन्तलाको पनि राम्रो उत्पादन हुन्थ्यो ।

तर, अहिले ती बिरूवा बूढा भए । बिस्तारै मासिँदै गए । त्यसैले पनि धनबहादुरले नयाँ खेतीको योजना बनाए । ‘रसुवामा यस्तै हावापानीमा मज्जासँग किवी फलेको देखेँ,’ उनले भने, ‘त्यसैले चितवनमा पनि फल्छ कि भनेर बिरूवा ल्याएर लगाएँ । अहिले फल दिइरहेको छ ।’ सुन्तलाले दिएको प्रतिफललाई आधार मान्दा किवीले पनि राम्रै आम्दानी दिनेमा उनी आशावादी छन् ।

‘किवीखेतीको विषयमा हामीलाई अनुभव नै छैन । तर, वर्षमा एक पटकमात्रै फल्ने किवीबाट पनि मूल्य पाएमा राम्रै हुन्छ भन्ने सोचेको छु,’ उनले भने । तरकारीखेतीमा सिंचाइको सुविधा नभएकोले जुनसुकै मौसममा उत्पादन गर्न नसकिने हुँदा वैकल्पिक खेतीपातीमा लागेको उनको भनाइ छ ।

उनले जानकारी पाएअनुसार नयाँ बिरूवा लगाएपछि करिब सात वर्षपछि मात्रै पूर्णरुपमा उत्पादन दिन थाल्छ । ‘हाम्रोमा तीन वर्षमै उत्पादन दिन थालेको छ । झाङ सानो भएकोले उत्पादन पनि कम छ । तर, बिस्तारै झाङ फैलिँदै जाँदा उत्पादन पनि बढ्छ होला,’ उनले भने । एकपटक लगाएको बिरूवाले कम्तीमा पनि ४० देखि ५० वर्षसम्म निरन्तर उत्पादन दिने उनले बताए ।

धनबहादुरले ल्याएको बिरूवामध्ये ७० वटा बिरूवा उनका भाइ (काकाको छोरा) अमरबहादुर गुरूङले लगाएका छन् । किवीखेतीको विषयमा जानकारी नै नभएको हुँदा उनलाई पनि अनुभव हुने कुरै भएन । तैपनि अनुमानकै भरमा लगाएको बिरूवाले पनि उत्पादन राम्रो दिन थालेको उनले बताए । ‘नयाँ फल भएकोले पहिलो चरणमा फलेको सबै गाउँलेलाई चखाइयो । अहिले दोस्रो चरणको फल बिक्री गरिरहेको छु । यो पनि अब सकिन लाग्यो ।’

यसअघि बन्दा, काउली, केराउलगायतका तरकारीखेतीभन्दा किवी अलि सजिलो खेती भएको उनले बताए । ‘किवीको विषयमा अनुभव नै नभए पनि तरकारीखेतीमा जस्तो मलजल र परिश्रम धेरै लाग्दो रहेनछ,’ उनले भने । हावापानीको हिसाबले पनि यो ठाउँ किवीखेतीको लागि उपयुक्त भूगोल भएको उनले अनुमान लगाए ।

अहिले सुरूवाती चरणमा भएकोले उत्पादनलाई जसोतसो बारीबाटै खपत गर्न सके पनि उत्पादन बढ्दै जाँदा बजार नपाउने हो कि भन्ने चिन्ता भने थपिएको छ । ग्रामीण क्षेत्रमा अझै पनि किवीखेतीबारे जानकार भइनसकेको हुँदा अहिले पनि बाहिरबाट आउनेहरुले किवी किन्ने गरेका छन् । ‘बजारमा चिनियाँ किवीको प्रभाव रहेछ,’ उनले भने, ‘त्यसैले भोलिका दिनमा उत्पादन बढ्दै गयो भने बजार नै लैजानु पर्ने र चिनियाँ किवीसँग प्रतिस्पर्धा गर्न नसकिने हो कि भन्ने चिन्ता छ ।’

अहिले भने बारीबाटै ३५० देखि ४०० रूपैयाँ किलोको दरमा बिक्री भइरहेको छ । ‘बाटोमा हिँड्ने पनि कतिपयले यो फल नै चिन्दैनन् । चिन्ने जतिले लैजान्छन्,’ उनले भने, ‘त्यसैले गाउँका मान्छेले मात्रै होइन, बजारका मान्छेको लागि पनि यो फल नयाँ नै रहेछ ।’ चितवनपोष्टबाट

images
प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १८:३२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology