नारायणगढ । राइनो राइडर्स क्लबका प्रतिनिधि आशिष गुरूङले ‘काँकडा टु टिस्टा’ नाम दिएर ‘ग्रेटर नेपाल’को यात्रा गरेका छन्। देशको नाम राख्न भन्दै राष्ट्रिय झन्डासहित पश्चिमको काँकडाबाट पूर्वमा टिस्टासम्म बुलेट यात्रा गरेका हुन्।
कुल २२ दिनको तालिका लिएर कात्तिक ८ गते राति करिब २ बजेतिर भरतपुर महानगरपालिकाबाट यात्रा थालेका गुरूङले १३ दिनमै यात्रा सफल बनाए।

कुल पाँच हजार किलोमिटरको यात्रा गरेको आफू नै पहिलो व्यक्ति भएको आशिषले दाबी गरेका छन्। ‘यात्राको सुरूवात नभएको होइन, तर विभिन्न समस्याले गर्दा सफल बनाउन सकेका छैनन्’, उनले भने, ‘त्यसैले निर्बाधरुपमा यो यात्रा सफल बनाउने सम्भवतः म नै पहिलो व्यक्ति हुँ।’ नेपालको पुरानो नक्सालाई बुलेट यात्रामार्फत घुम्ने योजना सफल भएको उनले बताए।
उनका अनुसार पूर्व या पश्चिमको नाकाबाट यात्रा सुरू गरेको भए पाँच दिनमा काँकडा–टिस्टाको यात्रा सकिन्थ्यो। तर, भरतपुरबाट काँकडा र टिस्टातिर भरतपुरकै बाटो भएर पूर्व लाग्दा यात्रा लम्बिएको उनले बताए। टिस्टा पुगेर पनि दक्षिणमा बंगलादेशको सीमा नाकासम्म पुगेर फर्किएकाले समय अझै लम्बिएको उनले बताए।
भरतपुर भ्रमण वर्ष–२०२४ लाई मद्दत पु¥याउनका लागि पनि उनले एकल यात्रा गरेका हुन्। ‘भरतपुर भ्रमण वर्ष–२०२४ लाई सघाउनका लागि पनि मैले यो यात्रा भरतपुरबाटै सुरू गरेर भरतपुरमै आएर अन्त्य गरेको हुँ’, उनले भने, ‘भरतपुरबाट पश्चिम गएर भरतपुरकै बाटो पूर्व पुगेर पुनः भरतपुरमै आएर यात्रा अन्त्य गर्दा दोहोरो यात्रा पर्न गएकोले बाटोको दूरी पनि लामो भएको हो।’ एकतर्फी यात्रामात्रै गरेको भए यात्रा छोटो हुने उनले बताए।

यसअघि पूर्वमा दार्जिलिङ–सिक्किम गएर १० दिनको यात्रा सफल पारेका थिए। त्यसबाहेक अन्य छोटा यात्रा नियमित गर्दै आइरहेका छन्। उनलाई यो यात्राका क्रममा भरतपुर महानगरपालिकासँगै बुलेट बाइकर्स जोन वर्कसप, भिन्टेज मोटरसाइकल वर्कसप, अल्फा जोन ड्रिङ्किङ वाटर, मोटुल, सुमो सुशी, ग्रीन लिफ, होटल भिस्टा चितवन, रोयल राइनो राइडर्स चितवन, फोर नेपाललगायतका संघसंस्थाले प्राविधिक सहयोग गरेका थिए।
यस्तै, साथ र सहयोग मिलेमा आगामी दिनमा पशुपतिनाथदेखि केदारनाथसम्मको यात्रा गर्ने योजना उनले बनाएका छन्। त्यसका लागि समय लाग्ने अनुमान छ । यो यात्रालाई उनले ‘हेड टु टेल’ शीर्षक दिएका छन्। चितवनपोष्टबाट
