Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माझी समुदायले यसवर्ष पनि मनाए ‘पितरापर्व’, के छ यसको महत्व ? (फोटोफिचर)

माझी समुदायले यसवर्ष पनि मनाए ‘पितरापर्व’, के छ यसको महत्व ? (फोटोफिचर)

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८०
माझी समुदायले यसवर्ष पनि मनाए ‘पितरापर्व’, के छ यसको महत्व ? (फोटोफिचर)
images

काभ्रे । नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृती र परम्परा छन् । यसमध्ये एक हो माझी जाती । जसको आफ्नै पहिचान जोगाउने संस्कृती पितरापर्व अहिले पनि प्रचलनमा छ ।

धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाइरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझी जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन ।

1 (2)_1698373161.jpg

यो जातीमा परम्परादेखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका रामकृष्ण माझीले बताए । यो परम्परा कहिलेदेखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवादेखि वृद्धहरु सबैको एकमत रहेको पाइएको छ ।

विभिन्न जात्रा र पर्वका आआफ्नै किंवदन्ती रहेको पाइन्छ । यस्तैमा पितरापर्वको पनि आफ्नै किंवदन्ती छ । जस अनुशार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेऊमा आइपुगेछन् । नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक जना माझीलाई आफूहरुलाई नदी पार गराईदिन अनुरोध गरेछन् । उक्त माझीले पनि नदी पार गराईदिएछन् । महादेव र पार्वतीले खुशी भएर तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सोझै स्वर्ग पुग्छौ भनि वरदान दिएर गएछन् । त्यसैबेलादेखि यो संस्कृतीको शुरुवात भएको स्थानीय माझी समुदायहरुले जानकारी दिए ।

20231027080653.jpg

देशभर छरिएर रहेका सबै ठाउँका माझीहरुले यो पर्व मनाउँदै आइरहेका छन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने गरिएको माझीहरुले बताए । यो उनीहरुको संस्कृती नै भएपनि सबैले मनाउनु पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य छैन ।

तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म जुठो बार्नु पर्छ । र विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाहरुको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।

यो कुरा सुन्दा उपत्यकामा नेवार समुदायले गाईजात्रा पर्व मनाए जस्तै हो कि भन्ने भान हुन्छ । केही हदसम्म गाईजात्रा जस्तै भएपनि पितरापर्व फरक संस्कृती भएको आँपचौरका ध्रुर्व माझीले बताए । उनका अनुशार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधी पुर्याउनु पर्छ । मरेका पितृहरुलाई निमन्त्रणा गर्नका लागि उनीहरुलाई विभिन्न बाहानहरुमा चढेर आउनु भनि घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाज लगायतका सवारी साधनहरुको चित्र कोरिन्छ । मृतआत्मा तीनै सवारीसाधनहरुमा चढेर आउँछन् भन्ने उनीहरुको विश्वास छ । महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृती कोरिएको ठाउँमा राखिन्छ । पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरि उक्त आकृती मेटाइसक्नु पर्छ । पितरा निकाल्ने दिन मुल भोटेले यसको शुरुवात गर्छ । अरुले मुलभोटेलाई विभिन्न काममा सहयोग गर्छन् । यस जातीकै २ जना बालिकाहरुलाई बाहुनको रुपमा पुजिन्छ । बाहुनको रुपमा रहेपनि त्यस दिनभरि उनीहरुलाई अरु जातीहरुले छुन हुँदैन भन्ने मान्यता रहेको छ । यदि कसैले छोएमा तिनीहरुको मृत्युसम्म हुनसक्ने माझीहरु बताउँछन् ।

त्यसपछि मुलभोटेले अरु २ जना गुरुङ्गहरुको छनोट गर्छ । उनीहरुकै साथमा अरु पनि मृतआत्मालाई बोलाउँदै नदीसम्म जान्छन् । यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने चलन छ । बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो बकाउनको लागि विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारको सल्लाह अनुशार आत्मालाई बोलाइन्छ । यसरी बोलाउँदा मुलभोटे काप्न थाल्यो भने उसमा मृतआत्मा आएको विश्वास गरिन्छ । उक्त आत्मालाई के चाहिएको छ, अरुले भोटेलाई सोध्छन् । भोटेले भने अनुशार कै मृतआत्मालाई दान गरेपछि पुनः घरमा आएर दःुख नदिनु भनेर पुकार गरिन्छ । त्यस दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि ३ दिनदेखिको पितरा पर्वको समापन हुन्छ । मृतकहरुका सबै घरहरुमा एकैसाथ र एउटै तरिकाले यस्तो गर्नु पर्ने परम्परा छ ।

यस पर्वको खास उद्देश्य मरेका आफन्तहरुको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकाहरुलाई कुनै किसिमको विध्नबाधाहरु नपरोस् भन्नु नै रहेको ध्रुर्व माझीले बताए । यो पर्व लाग्ने दिन अन्य जातका मानिसहरुको पनि माझीगाउँमा बाक्लै उपस्थिती रहने गरेको उनको भनाइ छ । यसरी आफ्नो अस्तित्वसँग जोडिएको पितरा पर्वलाई जोगाउन जस्तो सुकै दुःख झेल्न पनि माझीहरु तयार रहने पनि उनले बताए ।

कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने माझीहरु खुशी साथ दशैं मनाउँछन् किनकी गाउँमा कसैको नाममा पनि शोक मनाउनु परेन । ०७२ सालको भूकम्पको वर्ष मण्डनदेउपुर १० को आँपचौर गाउँमा ११ वटा घरबाट पितरा निकालिएको तितो अनुभव छ यहाँका माझीहरुसँग । किनकी यो वर्ष भूकम्पमा परि गाउँमा ११ जनाको मृत्यु भएको थियो । पितरा पर्व मनाउन २० हजारदेखि ५० हजारसम्म खर्च हुन्छ । यो खर्च जसको घरबाट पितरा निकालिन्छ उसैले व्यवस्थापन गर्नुपर्ने हुन्छ । पितरा पर्व दशैं तिहार मनाए जस्तो वर्षेनी मनाईंदैन तर गाउँका सदस्यहरुको मृत्यु भएको वर्ष म यो पर्व मनाउँदिन भनेर सुख पाईंदैन, अनिवार्य नै भएको रामकृष्ण माझीले बताए । यस वर्ष पनि काभ्रेको मण्डनदेउपुर १० स्थित माझीगाउँमा २ वटा घरबाट पितरा निकालिएको छ ।

तस्बीरहरु : कुमार तामाङ / ज्ञानमणि नेपाल कालाेटाेपी

images
प्रकाशित मिति :कार्तिक १०, २०८० शुक्रवार - ०८:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology