चितवन, १५ माघ । चितवनमा नर्समाथि श्रमशोषण भएको भन्दै विभिन्न अस्पतालका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।
आज नर्सिङ दिवसको अवसरमा सरकारले तोकेअनुरुपको तलब नपाएको, कोरोना निहुँ बनाउँदै जर्बजस्ती कामबाट निकालिएको भन्दै भरतपुरको चौबिसकोठीमा नर्सहरुले विरोध प्रर्दशन गरेका हुन् ।
‘नर्समाथिको शोषण बन्द गर’, ‘नर्सको आत्मसम्मान खै’, ‘नेपाल सरकारले तोकेको मापदण्ड अनुसार निजी अस्पतालको नर्सको तलब खै?’ लगायतका प्लेकार्ड उनीहरुले प्रर्दशन गरेका छन् ।
प्लेकार्ड प्रर्दशन गर्दै उनीहरुले नर्समाथिको श्रमशोषण बन्द गर्दै पेसागत सुरक्षाको माग गरे । प्रर्दशनमा नर्स शर्मिला श्रेष्ठले कोरोनाका बेला चितवनका प्राय अस्पतालहरुले बिरामीको चाप घटेको भन्दै ५० प्रतिशत नर्सलाई कामबाट निकालेको गुनासो गरिन् ।
‘अस्पतालले बिरामीको चाप बढ्दा नर्सलाई काममा राख्ने बिरामीको चाप घट्दा कामबाट निकाल्ने के यो जायज हो?’ श्रेष्ठले प्रश्न गरिन् । मनकामना अस्पतालमा अप्रेसन थिएटरमा इन्चार्जको काम गरेकी उनी कोरोनाको बाहानामा कामबाट निकालिनुपरेको दुःखद अनुभव सुनाइन् । कोरोनाको कारण देखाउँदै पाल्न नसक्ने भन्दै अस्पतालले बिदामा बस्न भने पनि झण्डै एक वर्ष हुँदा पनि काममा नबोलाएको श्रेष्ठले बताइन् । ‘मैले राजीनामा पनि दिएको छैन । काममा पनि बोलाउँदैन भने यसलाई निकालेको भनेर नबुझे के बुझने ? त्यो पनि बिना गल्ती बिना कारण’ उनी दुखोसो पोख्छिन । कामबाट बिनाकारण निकालिनुपर्दा उनले भोगेको मानसिक पीडाको कुनै गणना छैन । ‘मानसिक, सामाजिक र आर्थिक रुपमा जुन पीडा भोग्दैछु त्यो मलाई मात्र थाहा छ’ उनी भन्छिन् ।
आज नेपाल नर्सिङ दिवसको दिनमा पनि आफूहरु आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद् भएको नर्स प्रभा ढकालले दुखेसो पोखिन् र्। खुसी हुनुपर्ने दिनमा आज पनि सडकमै छौं’, ढकाल भन्छिन् । उनले लाखौँ खर्च गरेर नर्सिङ पास गरे पनि राम्रो कामको लागि संघर्ष रहेको बताउँछिन् । नेपालमा ८० ÷९० हजार नर्स रहेको बताउँदै ढकालले आआफ्नो ठाउँमा हरेक नर्स पीडामा रहेको बताउँदै ठूला निजी अस्पतालले ९ देखि १२ महिना भोलिन्टिएर गराएर अकस्मात कामबाट निकाल्ने गरेको उनले बताइन । हामी तीन ÷तीन वर्ष समय खर्च गरेर १० देखि २० लाख सम्म खर्च गरेर पढ्छौ तर काम पाउँदा पनि पाँच हजार देखि नौ हजार रुपैयाँ मासिक दिइन्छ । कहिलेसम्म श्रमशोषण सहेर. बस्ने अब हामी चुप बस्दैर्र्नौ’ ढकाल आक्रोश पोख्छिन् ।
उनले नर्सले गर्ने दायित्व तथा जिम्मेवारीलाई पूरा गर्दै निरन्तररुपमा आफ्नो अधिकारको लागि लड्न लागि देशैभरका नर्सहरुलाई आग्रह समेत गरिन् । ‘अहिले पनि नर्सहरु कामबाट निकालिने डरले बोल्न डराउनु हुन्छ तर कहिलेसम्म चुप बस्ने भावी पुस्ताका लागि बोल्नैपर्छ’ ढकाल सुनाउ छिन् । ढकालले नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ र नेपाल सरकारसम्म आफ्ना मागहरु सुनुवाइ हुने विश्वास भए पनि नभएको खण्डमा थप आन्दोलनमा उत्रने उनले जानकारी दिइन् ।