गोरखा, १५ माघ । चोरीको मोटरसाइकलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई मंगलबार पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनको साथबाट पल्सर २२० सिसिको बा ६८ प ११०९ नम्बर रहेको रातोकालो मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक इश्वर लौडारी नेतृत्वको प्रहरी टोलीले भट्टराईलाई सिरानचोक गाउँपालिका वडा नं. ८ गोपालडाँडाबाट पक्राउ गरेको हो ।
यसअघि गत सोमबार भट्टराईले धादिङको गजुरीबाट ३–०२–००२ प ६८८६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी पालुङटार नगरपालिका ५ ठाँटीपोखरीमा छोडी भागेका थिए । प्रहरीको चेकिङ भइरहेको ठाउँमा चोरीको मोटरसाइकल छोडी अर्को मोटरसाइकल चोरी गरी भागेको प्रहरीको बयानमा बताएका एसपी गुरुङले जानकारी दिए ।
सो मोटरसाइकल बिहिबार एक कार्यक्रम गरी मोटरसाइकल धनीलाई हस्तान्तरण गरिएको उनले बताए ।
भट्टराईले यसअघि चितवनमा नक्कली चेक दिएर विजुलीको सामान लिई फरार रहेको आरोप पनि रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत ११ गते गोरखा नगरपालिका ८ तल्लोबराहमा पार्किङ गरी राखिएको स्थानबाट चोरी भएको मोटरसाइकल पनि फेला परेको गोरखा प्रहरीले जनाएको छ । बा ८२ प ४४३८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल गोरखा नगरपालिका १३ कर्मसिङटोलमा बेवारिसे अबस्थामा फेला पारिएको एसपी गुरुङले जानकारी दिए ।
गत माघ ११ गते राती चोरी भएको दुईवटा मोटरसाइकल भने खोजी भइरहेको प्रहरीले जनाएको छ । गोरखा नगरपालिका १० वीरेन्चोकबाट चोरी भएको लु ६० प २५९० नम्बरको मोटरसाइकल र सोही दिन गोनपा ८ बराहबाट चोरी भएको लु ५९ प ०९२४ नम्बरको पल्सर मोटरसाइकल भने फेला नपरेको प्रहरीले जनाएको छ ।
चोरी भएका मोटरसाइकलको खोजी कार्य भइरहेको एसपी गुरुङले जानकारी दिए ।