Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

पत्रपत्रिका

२०, आश्विन २०८०
नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ
images

बाके । सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

images
images

पक्राउ परेका भारतीय नागरिक भएको बुझिएको छ। रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको छ।

शुक्रबार सिराजुद्दीन पुत्र इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जनाए। त्यस्तै इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैशी पुत्र जमील र रहीश कुरैशी पुत्र इकबाललाई पक्राउ गरिएको उनले जनाए।

यी चारजनालाई बिहीबार पक्राउ गरिएको हो। बुधबार आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियानलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी सेनाले जानकारी दिए।

उनीहरूलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइएको छ।

रूपैडिया र बाबागन्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने भारतीय प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ।

यता नेपालगन्जमा भएको धार्मिक सद्भाव बिथोल्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको विषयमा बाँकेका सुरक्षा अधिकारीले अनविज्ञता प्रकट गरेका छन्। जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले यस विषयमा अनविज्ञता प्रकट गरे।

‘यस विषयमा मलाई जानकारी छैन,’ उनले भने, ‘उनीहरूले पनि यस विषयमा जानकारी गराएका छैनन्।’

भारतमा बसेर गतिविधि गरेकालाई उतैको प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउने भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले भने, ‘उनीहरूको प्रभाव यहाँ छैन। कति जना भारतमा पक्राउ परे त्यो मेरो जिम्मेवारीसम्मकालाई थाहा छैन।’

भारतीय प्रहरीले भने नेपालगन्जमा धार्मिक उन्माद फैलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

नेपालगन्जमा सिर्जित पछिल्लो अवस्थामा बाह्य व्यक्तिको संलग्नता भएको आशंका गरिएको छ। यही आशंकाबीच भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गर्नुमा केही अर्थ रहेको नागरिक समाजका अगुवाहरू बताउँछन्।

सामाजिक सञ्जालमा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्न खोज्नेलाई कारबाही गर्नुपर्ने सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठले जनाए। ‘भारतीय प्रहरीले पक्राउ परेको विषयमा नेपाली सुरक्षा अंग जानकारीविहीन भएको भन्ने कुरा मलाई पत्याएर लाग्दैन,’ उनले भने, ‘कतिपय संवेदनशील विषयलाई सुरक्षा निकायले बाहिर नल्याएको होला। जानकारी नै नपाउने भन्ने हुँदैन।’

साथै नेपालगन्जमा लागेको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्रबार बिपी चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ। नेपालगन्जमा धार्मिक तनाव बढेपछि प्रशासनले लगाएको कफ्र्यु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म हटाएर दिउँसो निषेधाज्ञा लगाएको थियो।

नागरिक दैनिकबाट

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - ०९:३४:०७ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology