काठमाण्डौ, १४ माघ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधान न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले आज छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् ।
उनीहरूले निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरेका छन् । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा उनीहरूले स्पष्ट रूपमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने नदेखिने बताएका थिए ।
यसअघि हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगाना विरुद्ध समेत सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।