काठमाण्डौं, १४ माघ ।
नेपालमा कोरोना विरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना विरुद्धको खोप अभियानको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्नुहुनेछ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सीआईएनसँग कुराकानी गर्दै बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्ने बताउनुभयो ।
उहाँले कार्यक्रममा प्रधानमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी, मुख्यसचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहित सात वटै प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रीहरुको सहभागिता रहने पनि जानकारी दिनुभयो ।
खोप अभियानको सुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यकाका ११ वटा मुख्य केन्द्र र उपत्यका बाहिरका ७ वटा केन्द्रलाई जोडिनेछ ।सरकारले आजदेखि सुरु गर्ने खोप अभियानमासफाइ कर्मचारी, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, डाक्टर, सुरक्षाकर्मी, कैदी बन्दी गरी झन्डै ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।
कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ । एउटा खोप बुथले एक दिनमा १सय२० देखि १सय२५ जनालाई खोप दिनसक्ने बताइएको छ । खोप अभियान सफल बनाउनका लागि सरकारले सातै प्रदेशमा खोप पठाइसकेको छ भने १८ गतेसम्म ७७ वटै जिल्लामा खोप अभियान सुरु गरिसक्ने तयारी गरेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने भएकाले खोप लगाउने सबै स्वास्थ्यकर्मी निगरानीमा रहने डा. गौतमले बताउनुभयो । डा. गौतमले खोपको पहिलो मात्रा लगाएकालाई ठिक एक महिनापछि अर्काे मात्रा लगाउने पनि बताउनुभयो । सरकारले कोरोना विरुद्धको प्राप्त भएको खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग खोप लगाउन सबैलाई अपिल गरेको छ ।