बाँके। बाँकेमा भएको बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इकालका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको चखौरास्थित थारू संग्रालयको भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको हो ।