Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

९ किलो सुन तस्करकै हातमा पुगेर बिक्री भएको खुल्यो

९ किलो सुन तस्करकै हातमा पुगेर बिक्री भएको खुल्यो

पत्रपत्रिका

१६, भाद्र २०८०
९ किलो सुन तस्करकै हातमा पुगेर बिक्री भएको खुल्यो
images

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

images
images

फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्याइएको थियो। भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए।

‘ठुलै धनराशि खर्चेर सो सुन उनले हात पारेका रहेछन्। सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई ६५ लाख दिइएको रहेछ। त्यसमा अन्य खर्चसहित करिब २ करोड लागेको रहेछ,’ स्रोतले भन्यो।

वाङले हात पारेको करिब आठ किलो सुनमध्ये दुई किलोजति आफूसँग राखेर बाँकी ६ किलो बिक्रीका लागि सुरुदेखि नै आफूलाई सहयोग गर्दै आएका सिन्धुपाल्चोकका विश्व बस्नेत र दीप श्रेष्ठलाई दिएका थिए। उनीहरूसहित दीपेश बस्नेत सुन बिक्री गरेपछि वाङको सम्पर्कमा पुगेका थिए। भन्सार कार्यालयका कर्मचारी र बिचौलियामार्फत गायब गरिएको नौ किलोमध्ये करिब आठ किलोभन्दा बढी सुन वाङकै हातमा पुगेको थियो। यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई समेत जानकारी गराइएको छ। सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। वाङ भने नेपालबाट फरार भएका छन्। उनी यतिबेला चीनमा रहेको भनिएको छ। उनी नेपाल–चीन नाका केरुङआसपास रहेको प्रहरी स्रोतको दाबी छ। अहिले अमेरिका पुगेका दीप र विश्वलाई प्रहरीले सम्पर्कमा ल्याउने प्रयास गरिरहेको छ।

गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरीको अनुसन्धान विमानस्थल भन्सार प्रमुख अरूण पोखरेलको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थालेको थियो। यो विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ। ‘सिन्धुपाल्चोकका दुई व्यक्तिले सुन लगेको सुराक आएको छ। हामीले ती व्यक्ति र सिन्धुपाल्चोक प्रहरीको भूमिकाबारे पनि अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले दीप श्रेष्ठ र विश्व बस्नेतलाई पक्राउ गरी एक रात थुनेर वाङले पठाएका एक चिनियाँ व्यक्तिसँग ३ करोड २० लाख तिर्नू भनी कागज गराएर छाडेका थिए। उनीहरूले सो कागज गरेपछि हाल वाङलाई दिनुपर्ने पैसा नदिई भागेर ६५ लाख तिरेर दलालमार्फत अमेरिका पुगेको स्रोतको दाबी छ।

‘यताको हिसाब दिनेश बस्नेतलाई मिलाउने गरी जिम्मा दिएर उनीहरू दुवैजना १ करोड ३० लाख तिरेर अमेरिका पुगेका छन्,’ स्रोतले भन्यो। दिनेश बस्नेतले प्रहरीसँगको बयानमा सुन बेचेर ६ करोड २१ लाख आएको स्वीकार गरेका छन्। उनले त्यसमध्ये ८३ लाखको हिसाब देखाउन सकेका छैनन्। सुन बिक्रीको रकम हिसाब गर्दा उनीहरूले ६ करोड २१ लाख भएको बताए पनि ६ करोड रूपैयाँ मात्र आफूसमेतलाई दिएको उनले बताए। ‘उल्लिखित सुन अवैध तवरबाट प्राप्त भएको भन्ने जानकारी निज खरिदकर्ताहरूलाई भएकाले चलनचल्तीको मूल्यभन्दा कम मूल्य तिरी मबाट खरिद गरेको हुँदा निजहरूले सुनको बिलबिजकसमेत मसँग मागेनन्। ठुलो परिमाणमा सुन बिक्री गरेकोमा वेदप्रकाश अग्रवालसमेतले केही रकम छुट गरिदिनुहोस् भनी अनुरोध गरेकाले निजहरूको अनुरोध स्वीकार गरी २१ लाख रूपैयाँ छुट गरी ६ करोड रूपैयाँ मात्र लिएको हुँ,’ भन्सार एजेन्ट दिनेश बस्नेतले भनेका छन्। स्रोतका अनुसार दीप श्रेष्ठ र विश्व बस्नेतले यो सबै रकम व्यवस्थापन गर्ने जिम्मेवारी दिनेश बस्नेतलाई दिएका थिए।

‘सुन बिक्रीबाट प्राप्त रकममध्ये रेवन्त खड्काको निर्देशनमा प्रेरणा थापाको बैंक अफ काठमाडौं र कृषि विकास बैंक लिमिटेडको खातामा रु. ३० लाख, निजले भाउजू भन्ने ललिता थापा (राजभण्डारी) ले उपलब्ध गराएको निज ललिता थापा, समरबहादुर थापा र गंगाराम थापासमेतका नामका विभिन्न बैंक खातामा ३५ लाख गरी जम्मा ६५ लाख जम्मा गरिदिएको हुँ। निज रेवन्त खड्कालाई विभिन्न मितिमा १० लाख रूपैयाँ नगदै दिएको थिएँ, २ करोड ७५ लाख रूपैयाँमा मेरा ससुरा रामकेशव थापाका नाममा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–१७ दिव्येश्वरी प्लानिङभित्रको जग्गा खरिद गरी ८० लाख डक्सटर ट्राभल्स एन्ड टुरका नाममा ग्लोबल आइएमई बैंक लिमिटेड सुकेधारा शाखामा रहेको खातामा जम्मा गरेको थिएँ। ३० लाख रूपैयाँ त्रिवि भन्सार कार्यालयबाट लिलाम भएका कपडासमेत लिलाम सकार गर्दा खर्च भयो। २५ लाख रूपैयाँ मैले केही समयअघि बब्लु गुप्तालाई ऋणसापटी दिने क्रममा विभिन्न व्यक्तिको भन्सार बुझाउन दिएको रकम आफूले खर्च गरेकोमा अन्य ८३ लाख भने केमा खर्च भयो भन्न सक्ने अवस्था छैन,’ उनले सिआइबीलाई दिएको बयानमा भनेका छन्।

यसरी वाङले बेच्न दिएको सुन दीप श्रेष्ठ, विश्व बस्नेत, दीपेश बस्नेत, दिनेश बस्नेतले लिएर पैसा नदिएपछि वाङले दीप र विश्वविरुद्ध सिन्धुपाल्चोकका एसपी राणालाई राजनीतिक पहुँचका आधारमा मौखिक उजुरी गरेका थिए। मौखिक उजुरीपछि एसपी राणाले उनीहरूलाई ल्याएर एक रात थुनेको र वाङको प्रतिनिधि एक चिनियाँ नागरिकका नाममा ३ करोड २० लाखको कागज गराएर छाडेको स्रोतको दाबी छ। वाङका विश्वासिला पात्रका रूपमा दीप र विश्वले काम गर्दै आएका थिए। त्यसमा आफ्नो गाडी चालक लोकेन्द्र पौडेललाई पनि सहभागी गराएका वाङले दीप र विश्वबाट धोका पाएपछि अन्य भरियाहरूको समेत पैसा तिर्न नसकेर नेपालबाट भागेको हुन सक्ने स्रोतको दाबी छ। –नागरिक दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०९:०६:५१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology