Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मिथिलामा आज राखी मनाइँदै

मिथिलामा आज राखी मनाइँदै

पत्रपत्रिका

१४, भाद्र २०८०
मिथिलामा आज राखी मनाइँदै
images

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज  ‘राखी’ पर्व मनाइँदै छ। चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो।

images
images

सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो। पर्वका लागि  दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ। आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन्। रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन्। पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी) को भिड नै देखिएको छ। राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ  छन्।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन्। मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन्। अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन्। ससाना नानीहरुका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन्।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन्। मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषि र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्रमुख दिलिप तिवारी बताउँछन। सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ।

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै मिथिलामा यो पर्वको तयारी देखिने गरेको छ। पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन्।

हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रुपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन्। रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ। यद्यपि पर्वको मुख्य आकर्षणचैँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको बर्दिवास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतो बताउँछन।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ। त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा वलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा वलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ।

राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन्। एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका पाका मैथिल बताउँछन्। पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारुपमा मनाउन थालेका जिल्लाकै रामगोपालपुर नगरपालिका–२ महनपुरका इस्लाम धर्मावलम्बी युवा सकिवुल खान बताउँछन।

मिथिलामा केही वर्षयता मधेसमा बस्ने पर्वते मूलका हिन्दूमात्र नभएर इस्लाम धर्मावलम्बी युवा पनि हिन्दू परिवारकी चेलीलाई दिदीबहिनी मानेर राखी बधाउन थालेका छन्। यो आपसी हेलमेल र सामाजिक, सांस्कृतिक सद्भावको अपूर्व नमूना बनेको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका शिक्षक लिलानाथ गौतमको भनाइ छ। नागरिकदैनिकबाट

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ०८:५२:२३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology