रामेछाप, ११ माघ । जबरजस्ती करणी गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले ५१ वर्षका वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई हिजो मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताउनुभयो । वडाध्यक्ष बोहरा विरूद्ध चिनजानका ३३ वर्षका महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहरा विरूद्ध पक्राउपूर्जी जारी भएको थियो।
ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डिएसपी ढुङ्गानाले बताउनुभयो । सोही पत्र अनुसार उनलाई पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ। वृत्तका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराले माघ दुई गते राति ती महिला माथि जबरजस्ती करणी गरेका थिए।
ती महिला मध्यपुर ठिमी नगरपालिका–३ स्थित एक घरमा डेरा गरी बस्दै आएकी थिइन् । वडाध्यक्ष बोहरा माथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।