भरतपुर । नेपाल मगर सांस्कृतिक संघ चितवन र नेपाल मगर विद्यार्थी संघ चितवनले स्वर्गीय गायक अरूण थापामगरको स्मृतिमा ‘अरूण स्मृति साँझ’ आयोजना गर्ने तयारी गरेको छ । नारायणगढको सहिदचोकस्थित नारायणी रोधीं घरमा आज (शुक्रबार) २४औँ स्मृति साँझ आयोजना गर्न लागेको हो ।
स्वर्गीय गायक मगरद्वारा स्वरवद्ध गीतमा चितवनका स्थानीय कलाकारहरूले आवाज भर्नेछन् । नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरका अनुसार निश्चल थापामगर, बबिता थापामगर, कपिल रानामगरलगायतका कलाकारहरूले थापाका गीत गाउने छन् ।
‘भुलूँ भुलूँ लाग्यो मलाई’, ‘जति माया लाए पनि, जति कसम खाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘चोट के हो’, ‘भुलेका यादहरू’, ‘म रोए पनि तिमी हाँसिरहनु’, ‘साँझको जूनसँगै’लगायत दर्जनौँ गीत अहिले पनि उत्तिकै चर्चामा छन् । वि.सं. २००९ साल माघ २१ गते जन्मिएका गायक थापाको २०५६ साल साउन ५ गते निधन भएको थियो ।