काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जातिगत तथ्याङ्क प्रति नेपाल तमू (गूरुङ) विद्यार्थी छोंज धींले आपत्ति प्रकट गरेको छ । धींले आज एक विज्ञप्ति प्रकाशित गर्दै आपत्ति प्रकट गरेको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यालयले २०७८ सालमा लिएको जनगणनाको जातिगत तथ्याङ्कमा जनसंख्याको आधारमा १२ औं स्थानमा रहेको नेपालको ठूलो र लामो इतिहास बोकेको आदिवासी गुरुङ समुदायलाई टुक्राएर कमजोर बनाउने उदेश्यले घले गुरुङहरु मध्य केही घलेहरुको तथ्यांक ३५४३४ (०.१२%) छुट्टै रुपमा त्रुटिपूर्ण तरिकाले सार्वजनिक गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।
गुरुङ समुदायका संघ संस्थाहरुले नेपाल सरकार कहाँ घले (क्ल्हेँ) हरु गुरुङ समुदायकै थर हो भनी थुप्रै पुष्टि गर्ने प्रमाणहरु नेपाल सरकारलाई बुझाउने कार्यहरु हुदाहुदै पनि केही व्यक्तीको व्यक्तीगत स्वार्थको लागी बुझाएको अपुष्ट प्रमाणलाई आधार मानेर नयाँजाती घले जाती छुट्टै सुचिकृत गर्नुले सिंगो गुरुङ समुदायको भावना विपरीत र नेपाल सरकारको एउटा अंग आदिवासी जनजाती आयोगको सल्लाह सुझाबलाई समेत व्यवस्था गरि सरकारले मनोमानी ढंगले गरेको कार्यप्रती तमू विद्यार्थी छोंज धींले आपत्ति प्रकट गर्दै उक्त त्रुटि सच्याउन ७ दिने अल्टिमेटम दिएको छ ।
हप्तादिन भित्र पनि त्रुटि नसच्याईए जातीय अस्तित्व र पहिचानको रक्षक हामी सिंगो गुरुङ समुदाय आन्दोलित हुन बाध्य हुने नेपाल तमू (गूरुङ) विद्यार्थी छोंज धींका अध्यक्ष विश्वराज गुरुङले बताए ।
हेर्नुस् यस्तो छ विज्ञप्ति
पत्र संख्या: २०/०७९/०८०
राष्ट्रिय तथ्यांक कार्यलय ( NPHC ) ले सार्वजनिक गरेको जातिगत तथ्यांक प्रति विरोध सहितको प्रेस विज्ञप्ती
नेपाल सरकार राष्ट्रिय तथ्यांक कार्यालय (NPHC) ले वि.स. २०७८ मालिइएको जनगणनाको तथ्यांक त्रुटिपूर्ण तरिकाले सार्बजनिक गरिएको प्रती नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धींको गम्भीर ध्यानाकर्षण भएको छ । जनसंख्याको आधारमा १२ औं स्थानमा रहेको नेपालको ठूलो र लामो इतिहास बोकेको आदिवासी गुरुङ समुदायलाई टुक्राएर कमजोर बनाउने उदेश्यले घले गुरुङहरु मध्य केही घलेहरुको तथ्यांक ३५४३४ (०.१२%) छुट्टै सार्बजनिक गरेको छ । गुरुङ समुदायका संघ संस्थाहरुले नेपाल सरकार कहाँ घले (क्ल्हेँ) हरु गुरुङ समुदायकै थर हो भनी थुप्रै पुष्टि गर्ने प्रमाणहरु नेपाल सरकारलाई बुझाउने कार्यहरु हुदाहुदै पनि केही व्यक्तीको व्यक्तीगत स्वार्थको लागी बुझाएको अपुष्ट प्रमाणलाई आधार मानेर नयाँजाती घले जाती छुट्टै सुचिकृत गर्नुले सिंगो गुरुङ समुदायको भावना विपरीत र नेपाल सरकारको एउटा अंग आदिवासी जनजाती आयोगको सल्लाह सुझाबलाई समेत व्यवस्था गरि सरकारले मनोमानी ढंगले गरेको कार्यप्रती हाम्रो घोर आपत्ती रहेको छ ।
जय स्थितीमल्लले शुरूवात गरेको जात प्रथा लोकतान्त्रिक गणतान्त्रिक देश हुदा समेत जिवित रहिरहदा राज्य अझै आदिवासी समुदाय र नेपाली जनता प्रति गैरजिम्मेवार रहेको प्रष्ट भएको छ । वि.स. २०६८ को जनगणनामा १२५ जाती रहेको जातिय तथ्यांक अहिले १४५ हुनु स्वाभाविक मात्र नरहेर आदिवासी समुदायप्रतिको राजनीतिकरण हो । जनगणना हुँदै गर्दा जनसंख्या संगै जातिको संख्यामा पनि वृद्धि गर्नुले राज्य अझै हाम्रो समुदाय माथी फुटाउ र शासन गरको मुलमन्त्र बोकेर हिडेको गतिलो प्रमाण मान्न सकिन्छ । तमूवान सभ्यताको लामो समय सम्म घले (क्ल्हेँ) गुरुङहरु गुरुङकै थर रहेको प्रमाणहरु थुप्रै छन् । छुट्टै जात हुनलाई थातथलो, भाषा ,भेषभुषा, धर्म संस्कृति ,चालचलन र रितिरिवाज हुनुपर्दछ । भौगोलिक रुपमा फरक ठाँउको बसोबासले भाषामा केही फरकपन देखिनु स्वाभाविकहो । हाम्रो समुदायको गुरुङ भाषाबाट बोलिने मुख्य थरहरु, क्ल्हेँ(घले), लेम(लाम्छाने), कोन्मे(घोण्डे, घोताने) ,लम (लामा), क्रोम्जे, ल्हेंगे, सरब्जा, प्हच्युँ, क्लेंप्री इत्यादि हुन् । १७८ थर रहेको हाम्रो समुदायको एउटा मुख्य थर क्ल्हेँ(घले) रहेको छ । हाम्रो समुदायको घले (क्ल्हें) थरलाई छुट्टै जातिमा सूचीकरण गरिनु भनेको सिंगो गुरुङ समुदायको अस्तित्व समाप्त पार्ने षड्यन्त्र र चलखेल हो भन्ने हाम्रो ठहर छ । त्यसैले घले(क्ल्हें) छुट्टै जातहो भनी देखाइएको ३५,४३४ को तथ्यांक तुरुन्त सच्याइयोस्, यो विज्ञप्ति प्रकाशित मितिले ७ दिन भित्र तथ्यांक सच्याएर पुनः सार्बजनिक गर्नको लागि अनुरोध गर्दैयदि तथ्यांक नसच्याइए जातीय अस्तित्व र पहिचानको रक्षक हामी सिंगो गुरुङ समुदाय आन्दोलित हुन बाध्य हुने ब्यहोरा जानकारी गराउदै यो विज्ञप्ति जारी गरिन्छ ।
मिति: २०८०/०२/२१
........................
विश्वराज गुरुङ
अध्यक्ष