गोरखा । गोरखाका तीन वटा पालिकाका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा पशुचौपायामा फाट्टफुट्ट देखिएको यो रोगको सङ्क्रमण हाल चिन्ताजनक रुपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डाक्टर शर्मिला कुमालले बताइन् ।
जिल्लाको शहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको उनले बताइन् । देशैभरि लप्की स्कीन रोगको प्रकोप फैलिएसंगै गोरखाका शहिदलखन र गण्डकी गाउँपालिकामा पनि लक्षण देखिएका दुई वटा पशुचौपायाको नमूना संकलन गरिएको थियो । कार्यालयले संकलन गरेको नमूना वैशाख ६ गते परीक्षणका लागि पशुपन्छी अन्वेषण प्रयोगशाला पोखरा पठाएको थियो ।
वैशाख १४ गते दुवै नमूना पोजेटिभ देखिएको कार्यालय प्रमुख कुमालले बताइन् । उनका अनुसार एउटा गाई र एउटा गोरुमा लम्पी स्कीन पोजेटिभ देखिएको हो । ‘गोरखामा यो रोग फैलिदै गएको छ, हामीले लक्षण देखिएको दुई वटा नमूना मात्रै पठाएको हो, दुई वटैमा पोजेटिभ देखियो’, उनले भनिन, ‘अव बारपाकमा पनि त्यस्तै लक्षण देखिएको छ । हामीले हेर्दा लम्पी स्कीन नै हो ।’ बारपाकमा ४÷५ वटा पशुचौपायामा यो रोगको लक्षण देखिएको उनले बताए । बाहिरी रुपमा दुई वटै मात्रै भएपनि यो रोग सङ्क्रमणको क्रम बढ्दो अवस्थामा रहेको उनको भनाइ छ । बारपाकमा पनि लक्षण देखिएको पशुचौपायाको नमूना संकलन भइरहेको बताउदै गाई, गोरु र भैसीमा यो रोग लाग्ने गरेको उनले बताइन् ।
पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि गोरखाका किसान चिन्तित भएका छन् । लम्पी स्कीन रोग लागेको पशुको दूध र मासु उत्पादनमा ह्रास ल्याउने र व्यावसायिक किसान घाटामा जाने उनले बताइन् । यो रोग नियन्त्रणका लागि पशुचौपाया एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्ने कार्य रोक्नुपर्ने, चरन क्षेत्रमा चराउन लैजान नहुने, जहाँ पालेर राखेको छ, त्यही रोगको उपचार गर्नुपर्ने उनले जानकारी दिइन् ।
लम्पी स्कीन रोग नियन्त्रणका लागि कार्यालयबाट रोगका बारेमा किसानलाई जानकारी गराउने काम भइरहेको उनले बताइन् । रोगको बारेमा सूचना प्रकाशन तथा प्रचारप्रसार गर्ने, स्थानीय तहका कृषि शाखा मार्फत प्राविधिकहरुलाई रोगको बारेमा स्थानीय कृषकहरुलाई जानकारी गराउने काम भइरहेको उनले बताइन् । यस्तै, गण्डकी, सहिदलखन लगायतका पालिकाहरुले पनि यो रोगका बारेमा कृषकलाई जानकारी दिने काम गरिराखेका छन् ।
पशु सेवा विभागका अनुसार गण्डकीका थप तीन जिल्ला गोरखा, स्याङ्जा र लमजुङमा यो रोग फैलिइसकेको छ ।
सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो । दुई वर्षअघि मोरङमा यो रोग देखिएलगत्तै रौतहट, चितवन र मकवानपुरसम्म फैलिएको थियो ।
त्यतिवेला १५ सय गाईमा एकैपटक यो रोगको सङ्क्रमण देखिएको पशु सेवा विभागको अनुसन्धानमा पाइएको थियो । तर, सरकारले रोग नियन्त्रणमा चासो नदिँदा अहिले देशभर महामारीको रूप लिएको हो । तराईबाट सुरु भएको यो रोग अहिले सबैभन्दा बढी मकवानपुरमा फैलिएको छ ।
यो रोगबाट मकवानपुरमा ४५ गाईवस्तु मरिसकेका छन् । कृषि मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार पहाडमा गाई थारो भएपछि बेच्ने र तराईबाट दुधालु गाई लैजाने प्रवृत्तिका कारण यो रोग पहाडी क्षेत्रमा सर्न पुगेको हो । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला प्रमुख शर्मिला चापागाईंका अनुसार पछिल्ला दिनमा लम्की स्किन रोग परीक्षणका लागि विभिन्न जिल्लाबाट नमुना आउने क्रम बढेको छ । ‘लम्की स्किन रोगको परीक्षणका लागि भन्दै विभिन्न जिल्लामा धेरै नमुना आउने गरेका छन । तीमध्ये अधिकांशमा रोग पुष्टि हुने गरेको छ,’ उनले भने, ‘पछिल्लोपटक एक सय ५५ वटा नमुना परीक्षण गर्दा एक सय २८ वटामा लम्की स्किन रोग पुष्टि भएको छ ।’
पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. मुकुल उपाध्यायले रोग नियन्त्रणका लागि भ्याक्सिन स्वीकृति दिएको बताए । ‘हामीले नेथलिङ्ग स्ट्रेन वर्गका भ्याक्सिनका लागि स्वीकृति दिइसकेका छौँ । यो भ्याक्सिन लगाएर रोग नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘स्थानीय तहका पशु चिकित्सकको सल्लाहमा किसानले उचित हेरविचार गरेर यो रोगबाट पशुचौपायालाई जोगाउन सकिन्छ ।’
यस्ता छन् रोगका लक्षण
यो रोगको सङ्क्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटरभन्दा ठूलो) देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छ ।
रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा सङ्क्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रामनन्दन तिवारीले जानकारी दिए । ‘उड्ने किराले सङ्क्रमण फैलाउने गरेका छन । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ,’ उनले भने । उनका अनुसार यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो सङ्क्रमण हुने प्रकृतिको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग भएको बताए । ‘यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ,’ उनले भने ।
लम्की स्किन रोग फैलिन थालेपछि सरकारले निथलिङ्ग स्टे«न भएको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ । यसको मूल्य सात सय रुपैयाँसम्म पर्ने जनाइएको छ । भेटेरिनरी औषधि व्यवसायी दिवेश थापाले स्वीकृत वर्गमा पर्ने ‘लम्पी सिल्ड–एन’ भ्याक्सिन प्रतिडोज दुई सय रुपैयाँमा उपलब्ध गराइरहेको बताए । सरकारले भ्याक्सिनका लागि अहिलेसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेको छैन ।
स्थानीय र प्रदेश सरकारले समन्वय गरी भ्याक्सिन खरिद गरेर किसानलाई वितरण गर्न सक्ने कृषि मन्त्रालयले जनाएको छ । अहिलेसम्म लम्पी स्किनको ठ्याक्कै उपचार विधि पत्ता लागिसकेको छैन । लक्षणअनुसारको उपचार गरेर यो रोग नियन्त्रण गर्न सकिने तिवारीको भनाइ छ । ज्वरो आएको पशुलाई सोहीअनुसार औषधि खुवाउने, कचेरा र सिँगान बगेको पाइए सोहीअनुसारको औषधि र उपचार गर्नुपर्ने उनले बताए । लक्षण देखिएका पशुचौपायाको समयमै उपचार नगरेमा लम्की स्किन रोगले आकार लिनेसक्ने उनले बताए ।